
काभ्रे– बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पुर्याई तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको छ ।
बनेपा नपाका–९ ठकुरीगाउँस्थित आफ्नै कृषि फार्ममा फोहरमैला व्यवस्थापन गर्न मेशिन राख्ने स्थान तयारी गर्ने क्रममा गत सोमबार डोजर लैजाँदा वडाध्यक्ष सुवालको नेतृत्वमा अवरोध पुर्याएको जनाउँदै किटानी जाहेरी दिइएको हो ।
नपाले उक्त स्थानमा जापानिज प्राविधिबाट धुवाँरहित, वातावरणलाई अवसर नपुग्ने मेशिनमार्फत फोहर नष्ट गर्न जमीन तयारीका लागि डोजर लैजाँदै गर्दा स्थानीयले बाटोमा अवरोध पुर्याइ सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरी डोजर तोडफोड गरिएको थियो ।
आजै पक्राउ गरिएका घिसिङको रिहाइको माग गर्दै स्थानीय महिलाले नगर कार्यालयको गेटमा प्लोकार्डसहित धर्ना दिएका छन् भने नेपाली काङ्ग्रेससहित केही दलले थप बृहत् छलफल गरी फोहर व्यवस्थापनका लागि उचित स्थान छनोट गर्न सुझावसहित जिल्ला प्रशासन कार्यालय धुलिखेलमा ज्ञापनपत्र बुझाएका छन् ।
