
काठमाडौं । निरन्तर अतिक्रमणको चपेटामा पर्दै गएको टुँडिखेल संरक्षणको माग गर्दै नागरिकस्तरबाट विरोध सुरु भएको छ । विरोध स्वरुप शनिबार बिहान मानव साङ्लो बनाएर टुँडिखेल घेरिएको हो।
विश्व स्वतन्त्र दिवसको अवसर पारेर ‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर टुँडिखेल घेरेको हो ।दिनानुदिन टुँडिखेल अतिक्रमण हुँदै गएपछि नागरिकस्तरबाट विरोधस्वरुप अकुपाई टुँडिखेल अभियान सुरु भएको हो ।
मानव साङ्लोमा ३ हजार भन्दा बढी सहभागी भएको अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिए । साँस्कृतिक झाँकीसहित सुरु भएको अभियानमा नागरिक समाज, विद्यार्थी, कलाकार, राजनीतिक पार्टी र जनप्रतिनिधिको उल्लेख्य सहभागिता थियो ।
उनीहरुले ‘यो टुँडिखेल कसको ? जनताको, संरक्षण गर्ने दायित्व कस्को ? हामी सबैको, ‘टुँडिखेल कसको विर्ता ? अब लिनेछ जनताले फिर्ता’, ‘पुर्खाको नासो जनताको हक’, ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
कुनै समय एसियाकै ठूलो परेड मैदान रहेको टुँडिखेलको केही भाग निर्माण सामग्री राख्ने ठाउँ बनेको छ भने अस्थायी भौतिक संरचना निर्माण गरेर कामदारसमेत बस्ने गरेका छन् ।
अभियानको उदेश्य टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनु रहेको छ। यस अन्तरगत रानीपोखरीदेखि त्रिपुरेश्वरको दशरथ रंगशालासम्म एकिकृत टुँडिखेल बनाउने उदेश्य अभियानकर्मीहरूले लिएका छन्।
त्यस्तै नेपाली सेनाले टुँडिखेलको आधा क्षेत्र लिएको छ । जहाँ सर्वसाधारणलाई प्रवेशमा रोक लगाइनुका साथै सेनाले पक्की संरचनासमेत बनाएको छ । खुल्लामञ्चभित्रै बसपार्क निर्माण भएको छ । तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जनाएको छ ।
