कास्की-२ उपनिर्वाचन : प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह

Share:

पोखरा । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न महानगर बाल मञ्च, पोखराले राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

बालबालिका सम्बन्धि ऐन-२०७५ को दफा ६६ मा स्पष्ट रुपमा राजनीतिक प्रयोजनमा बालबालिका प्रयोग गर्न नपाइने उल्लेख रहेकाले त्यसो नगर्न मञ्चले सचेत गराएको हो।

महानगर बाल मञ्च, पोखराका सचीव सन्देश बिकले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर प्रचारप्रसारमा बालबालिकाको प्रयोग भएको पाइए खरो रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

‘नीतिनिर्माताले नै यस्ता अनैतिक कार्य नगर्नु हुन विनम्रतापूर्वक अनुरोध गर्दै उपनिर्वाचनमा बालबालिकाको प्रयोग भएको पाइएमा महानगर बाल मञ्च, पोखरा खरो रुपमा प्रस्तुत र उजुरी गरि कानुनी प्रक्रियामा अगाडि बढ्ने जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै मञ्चले उपनिर्वाचनमा प्रयोग गरिएका पर्चा पम्प्लेट पोखराका सडकमा जथाभावी देखिएको भन्दै सरसफाईमा पनि ध्यान दिन आग्रह गरेको छ ।

प्रेस विज्ञप्ति

मङ्सिर १४ गते हुन लागेको कास्की २ को उप निर्वाचनमा बालबालिकाको प्रयोग नगरिदिनु हुन महानगर बाल मञ्च , पोखरा विनम्रतापुर्बक अनुरोध गर्दछ । बालबालिका सम्बन्धि ऐन -२०७५ को दफा ६६ मा स्पष्ट रुपमा उल्लेख गरिएको छ कि बालबालिकालाई राजनीतिक प्रयोजनका लागि प्रयोग गर्नु बालबालिका विरुद्धको कसुर हो र संगै निर्वाचनको आचारसंहिता उलंघन गरिनु पनि हो ।

नीतिनिर्माताले नै यस्ता अनैतिक कार्य नगर्नु हुन विनम्रतापूर्वक अनुरोध गर्दै, कहि कतै उपनिर्वाचनमा बालबालिकाको प्रयोग भएको पाइएमा महानगर बाल मञ्च,पोखरा खरो रुपमा प्रस्तुत र उजुरी गरि कानुनी प्रक्रियामा अगाडि बढ्ने व्यहोरा पनि यहि विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।

साथै सुन्दर नगरी पोखरामा फोहोर नगरिदिनु हुन पनि अनुरोध गर्दछ। उप निर्वाचनमा प्रयोग गरिएका पर्चा पम्पेट आदि सडकमा यत्रतत्र भैरहेको दृश्य हामी पटकपटकको निर्वाचनमा देख्दै आएका छौ । जनताको मात्र प्रतिनिधि नभई त्यहाको बाताबरण संरक्षणका लागि पनि हजुरहरुको भुमिका रहेको कुरा पनि स्मरण गराउन चाहन्छौं ।

जय बालबालिका !

सन्देश बिक
सचीव
महानगर बाल मञ्च , पोखरा
मिति :२०७६/०८/०६

कमेन्ट गर्नुहोस्
Share: