
दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरूको प्रहरी इन्काउन्टरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रहरीले उनीहरूलाई बुधवार आफ्नो नियन्त्रणमा लिएको थियो । उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो ।
तेलङ्गाना प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार शुक्रवार बिहान तीन बजेतिर उनीहरूको एउटा “भिडन्त”मा मृत्यु भएको हो । घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ ।
तीन चारै जनालाई प्रहरीले पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर अनुसन्धान गर्न खोजेको हैदराबादका प्रहरी प्रमुख भीसी सज्जनारले बताएका छन् ।
त्यहाँ उनीहरूले आफूमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको र भिडन्त भएको प्रहरीको दाबी रहेको बीबीसीले जनाएको छ ।
प्रहरीको बन्दुक खोस्न र भाग्न खोजेकाले गोली हानिएको प्रहरीले जनाएको बीबीसीले उल्लेख गरेको छ । प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
गत साता ती पशुचिकित्सकको बलात्कारपछि हत्या भएपछि भारतमा चर्को आक्रोश उत्पन्न भएको थियो । सडकदेखि संसद्सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो ।
