
तनहुँ। शिला प्राथमिक विद्यालय हलेदीकी कक्षा १ अध्ययरत छात्रा सुमित्रा परियार नयाँ स्वीटर पाउँदा दंग थिइनु । जाडो महिना भएपनि गरिबीका कारण न्यानो कपडा विना नै विद्यालय जाने गरेकी सुमित्रा नयाँ स्वीटर पाएपछि जाडोमा न्यानो बन्ने आशा सहित खुशी भएकी हुन् ।
उनीजस्तै चिसोमा ज्यान कमाउँदै स्कुल पुग्नुपर्ने बाध्यता भएका अन्य ६० जना बिद्यार्थीको अनुहार स्वीटर पाएपछि उज्यालो देखिन्थ्यो । अब त कत्ती मज्जा न्यानो स्वीटर पायौँ हामीलाई त अव जाडो नै हुदैन कक्षा २ की छात्रा अञ्जु थापाले भनिन् । उनीजस्तै सबैको एउटै धारणा थियो ‘यसपालीको जाडोमा सहज हुने भयो ।
शुक्लागण्डकी नगरपालिका ४ स्थित दुलेगौडामा रहेको शुक्लागण्डकी बचत तथा ऋण सहकारी संस्थाले जाडो मौसमको सुृरुवातीमै शुक्रबार उक्त विद्यालयमा स्वीटर वितरण गरेपछी वालवालिकामा खुसी छाएको हो । स्वीटर वितरण गर्दै सहकारी संस्थाका अध्यक्ष लेख बहादुर पुनले चिसोकै कारण विभिन्न समस्याबाट वालवालिका ग्रसित नहुन भन्ने उद्धेश्यले स्वीटर वितरण गरेको जानकारी दिए ।
उनले सहकारीले आर्थिक कारोबार मात्र नगरेर सामाजिक कार्यमा पनि क्रियाशील रहेको जानकारी दिए । पुनले सहकारीले स्थापना काल देखि नै सहकारी विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताउदै आगामी दिनमा पनि सहयोग गर्दे जाने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टिकाराम रिमालले सहकारीले आफ्नो विद्यालयलाई नै अंगित गरेर स्वीटर वितरण गरेकोप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि दुरदराजमा रहेका विद्यालय तथा विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग गर्न आग्रह गरेका थिए । संस्थाका अध्यक्ष लेख बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाकी उपाध्यक्ष रसमाया गुरुङले र कार्यक्रम सञ्चालन सहकारीको शिक्षा उपसमितिका संयोजक त्रिलोचन लम्सालले गरेका थिए ।

