कास्की २ बाट निर्वाचित सांसद भट्टराईले लिइन् शपथ

Share:

पोखरा । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले मंगलबार शपथ ग्रहण गराएकी हुन् ।

नेकपाबाट उम्मेदवार बनेकी भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

शपथग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै सांसद भट्टराईले कानुन निर्माणका विषयमा आफ्नो प्राथमिकता रहने बताइन् । चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्ने दृढता उनले व्यक्त गरिन् ।

कास्की २ का पूर्वसांसद एवं तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन भएको थियो । जहाँ नेकपाले रविन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।

उनले २४ हजार ३ सय ९५ मत पाउँदा प्रतिद्वन्दी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ८६ मत पाएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: