
पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल)को चौँथो दिनको पहिलो खेलमा काठमाडौँले धनगढी सामु रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले ५ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको हो । काठमाडौँले सुरुमै आफ्नो ओपनरलाई गुमाएको थियो ।
आफ्नो पारीको तेस्रो बलमा काठमाडौँका ओपनर गौरव तोमर शुन्यमा आउट भएका थिए । तोमरलाई कमल सिंह ऐरीले कप्तान दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए । काठमाडौँका अर्का ब्याट्सम्यान अमित श्रेष्ठ ब्यक्तिगत ३४ रन बनाएर आउट हुन पुगे । उनले ६ चौका र १ छक्काका साथ आक्रामक पारी खेलेका थिए । जयकिसन कोल्सवालासँग उत्कृष्ट साझेदारी गरेका अमितलाई सागर ढकालले आउट गराए ।
कोल्सवालासँग ५१ रनको साझेदारी गरेका अमितलाई सागरले बिक्रम ठगुन्नाको हातबाट उत्कृष्ट क्याच आउट गराए । काठमाडौँका २ ब्याट्सम्यान आउट भएपछि आएका कप्तान ज्ञानेन्द्र मल्लले आक्रामक पारी खेले । ज्ञानेन्द्रले जयकिसन कोल्सवालासँग १ सय ३१ रनको साझेदारी गरे । ३८ बल खेलेका उनले ८ चौका र ९ छक्काको सहयोगमा शतक बनाएका हुन् ।
यस्तै जयकिसन कोल्सवालाले ३६ बलमा ४६ रन बनाए । यो सतक पीपीएलकै पहिलो शतक समेत हाे । ज्ञानेन्द्र कमलसिंह ऐरीको बलमा आउट भएका थिए । धनगढीका लागि कमलसिंह ऐरीले ४ विकेट लिँदा सागर ढकालले १ विकेट लिए । धनगढीले अहिले ब्याटिङ शुरु गरेको छ ।
आजको खेल प्रतिकुल मौसमका कारण खेल १७ ओभरमा झारिएको छ । चिसो मौसमका कारण खेल ढिला सुरु भएपछि १७ ओभरमा झारिएको हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं पहिलो जितको खोजीमा रहेको छ । यता दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढी लगातार दोस्रो जितको खोजीमा छ ।
पहिलो खेलमा पोखरा पल्टनससँग ९ विकेटले पराजित भएको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजित भएको थियो । काठमाडौं आज धनगढीलाई पाखा लगाउँदै प्रतियोगितामा जिवित रहन चाहन्छ । दुई खेलमा अङ्क जोड्न नसकेको काठमाडौं अङ्क तालिकाको पुछारमा रहेको छ । यता धनगढी भने पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गरेको थियो । धनगढी आज जित निकाल्दै प्रतियोगितामा विजयी यात्रा कायम राख्न चाहन्छ ।
एक खेलमा २ अङ्क जोडेको धनगढी अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।
