चितवनको दोस्रो जित, बुटवल १ सय १९ रनले पराजित

Share:

पोखरा । पोखरामा जारी दास्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) मा चितवन राइनोजले दास्रो जित दर्ता गरेको छ । बिहिबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा बुटवललाई रनले १ सय १९ रनले पराजित गर्दै चितवनले दास्रो जित निकालेको हो ।

टस हारेर ब्याटिङ सुरु गरेको चितवनले निर्धारित २० ओभरको खेलमा २ सय ३ रन जोडेको थियो । २ सय ४ रनको लक्ष्य पछ्याएको बुटवल २० ओभरमा सबै विकेट गुमाएर ८४ रनमा समेटियो ।

२ सय ४ रनको विशाल लक्ष्य पछ्याएको बुटवलका लागि शिभम सिंहले सर्वाधिक ३३ रन जोडे । उनले ३३ बल खेल्दा ३ छक्का र १ चौका हाने । भीम सार्कीले २१ बल खेल्दा २१ रन बनाए । उनले २ चौका र एक छक्का हिर्काए । यस्तै हरि बहादुर चौहानले २० बल खेलेर १२ रन जोडे । अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

बुटवललाई सस्तैमा समेट्न करण केसीले सर्वाधिक ४ विकेट लिए । ३.४ ओभर बलिङ गरेका उनले ११ रन खर्चिए । यस्तै ३ ओभर बलिङ गरेका रोहन मुस्ताफाले ५ रन खर्चिएर २ विकेट लिए । यसबाहेक समान ३÷३ ओभर बलिङ गरेका सन्नी पटेल, भुवन कार्की, विक्रम शोभ र विक्रम भुसालले एक÷एक विकेट लिए ।

चितवनको लागि ओपनरद्धय रोहन मुस्ताफा र पारस खड्काले अर्धशतक बनाए । ५६ बल खेलेका रोहनले ७ चौका र २ छक्काको सहयोगमा ७० रन जोडे । यस्तै पारसले ४० बल खेल्दै ६३ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे । आरिफ शेखले १९ बल खेल्दै ४० रन जोडे । उनले ३ छक्का र ३ चौका हाने । अन्य खेलाडीको ब्याट भने चलेन ।

चितवनका लागि २ बलको सामना गरेका सन्नी पटेलले अविजित ४ रन बनाए भने ५ बल खेलेका बाबर हायतले एक रन मात्र बनाए । बुटवलका लागि अफ्ताबुद्धिन अहमदले २ विकेट लिए । यस्तै अविनाश बोहोराले एक विकेट लिए । प्रतियोगितामा यो चितवनको दोस्रो जित हो भने बुटवलको पहिलो हार हो । यसअघि भएको पहिलो खेलमा दुवै टोलीले जित हासिल गरेका थिए ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको कप्तानीमा रहको चितवनले पहिलो खेलमा पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो । यस्तै सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले काठमाडौँ गोल्डेनलाई सुपर ओभरमा हराएको थियो ।

यो जितसँगै चितवनको दुई खेलबाट ४ अंक जोडेको छ । चितवन अंक तालिकाको शीर्ष स्थानमा रहँदा पराजित भएको बुटवलको दुई खेलबाट २ अंक रहेको छ । बुटवल नेट रन रेटको आधारमा अंक तालिकाको पुछारमा छ ।

प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुने छ । पहिलो खेलमा बिहान साढे ९ बजे बुटवल ब्लास्टर्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा भएको थियो । यस्तै दोस्रो खेलमा दिउँसो १२ः४५ बजे चितवन राइनोज र एक्सपर्ट धनगढी खेल्ने छन् ।

प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वा्धिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।

अन्तिमसम्म लय कायम राख्छौँ : कप्तान खड्का

जितपछि प्रतिक्रिया दिँदै चितवनका कप्तान पारस खड्काले अघिल्लो खेलको गतिलाई अँगालेर खेल जित्न सफल भएको बताए । उनले अन्तिम खेलसम्मै यो गति कायम राख्ने स्पष्ट पारे ।

उनले भने, ‘हामीले अहिलेसम्म खेलेको दुवै खेल जित्यौँ, यो लय अन्तिमसम्म नै कायम राख्नका लागि प्रयासरत रहने छौँ ।’

पावरप्लेमा रन बन्न नसक्दा पराजित : कप्तान सोमपाल

हारपछि बुटवलका कप्तान सोमपाल कामीले पोखराको पीचमा २ सयको लक्ष्य मुस्किल नभएको तर आफ्नो शीर्ष क्रम चुक्दा खेलमा लक्ष्य भेट्टाउन नसकेको प्रतिक्रिया दिए ।

उनले भने, ‘हामी लक्ष्य भेट्टाउनका लागि मैदानमा उत्रिएका थियौँ तर पावरप्लेमा रन बन्न नसक्दा पराजित भयौँ ।’

कमेन्ट गर्नुहोस्
Share: