
पोखरा । डिउटीको समयमा मादक पदार्थ सेवन गरेको भेटिएपछि पोखरामा प्रहरीलाई नै नियन्त्रणमा लिइएको छ । पोखरा-२७ तालचोकमा डिउटीमा खटिएका बी.बी यादव नाम गरेका प्रहरी हवलदारलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
उनी ईलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत छन्। स्थानीयले खबर गरेपछि उनलाई नियन्त्रणमा लिएर परीक्षणका लागि पठाइएको छ । ईलाका प्रहरी कार्यालय शिसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटले हवलदार यादवलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणको प्रक्रिया अगाडि बढाइएको बताए ।
स्थानीयले डिउटीमा खटिएका यादवले मादक पदार्थ सेवन गरेको चाल पाएपछि नियन्त्रणमा लिएका थिए । त्यसपछि प्रहरीलाई नै खबर गरेर उनलाई जिम्मा लगाए । ‘जनताले हाम्रो प्रहरी राम्रो हुनुपर्छ भनेर सोच्नु स्वभाविक हो । डिउटीमा खटिएका बेला मापसे गरेको चाल पाएपछि स्थानीयले नियन्त्रणमा लिनुभयो,’ उनले भने,‘प्रहरीलाई खबर आएपछि नियन्त्रणमा लिएका छौँ, नियम अनुसार कारबाही हुन्छ ।’
