
पोखरा। दोश्रो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल) अन्तर्गत आइतबारका खेलमा चितवन राइनोज र बुटवल ब्लास्टर्स विजयी भएका छन् ।
चितवनले विराटनगरलाई २८ रनले पराजित गरेको हो । बुटवलले धनगढीलाई ७ विकेटले हरायो । पोखरा रंगशालामा धनगढीले दिएको १ सय ४१ रन लक्ष्य बुटवलले १६ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । बुटवलका लागि अफ्ताब उद्दीन अहमेदले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै हर्स टोन्कले ४० रन जोड्दा शंकर रानाले २५ रन बनाए । शिबम सिंह १५ रनमा अविजित रहे । धनगढीका लागि अनिल खरेलले २ र दिपक पुनियाले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्दीप जोराले ३९ रन जोड्दा सौरभ खनालले १० रन बनाए ।
बुटवलका ललित भण्डारीले ३ विकेट लिए । अविनाश बोहराले २ विकेट झारे । जितसँगै प्ले अफमा पुगेको बुटवलले ४ खेलमा ६ अंक जोड्यो । र, बुटवल अंक तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ ।
यसअघि आइतबार बिहान भएको खेलमा चितवनले विराटनगरलाई २८ रनले पराजित गरेको थियो । पोखरा क्रिकेट रंगशालामा १४७ रनको लक्ष्य पच्छाएको बिराटनगरले केवल रन बनाउन सक्यो।
विराटनगरको सुरुवात राम्रो हुन सकेन। ओपनर सुनिल धमला ५ रनमा आउट हुन पुगे। उनलाई करन केसीले अनिल कुमार शाहको हातबाट क्याच गराए। यस्तै अर्का ओपनर मुहम्मद जैद आलम व्यक्तिगत १ रनमा पभेलियन फर्किए। उनी सन्नी पटेलको सिकार बन्न पुगे।
विराटनगरका लागि लोकेश बमले सर्वा्धिक ६२ रन बनाए । ३६ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गर्दै रन बनाएका थिए । उनलाई करण केसीले अनिल शाहको हातबाट क्याच गराए ।
पुनित मेहेराले २४ रन बनाउँदै रोहन मुस्तफाको बलमा बोल्ड भएका थिए । यस्तै जीतेन्द्र मुखियासमेत मुस्तफाको बलमा बोल्ड नै हुन पुगे ।
कप्तान प्रदिप सिंह ऐरी १९ बलमा ९ रन बनाएर भुवन कार्कीको बलमा आउट भए। राजु रिजाल भुवन कार्कीकै सिकार बन्न पुगे। २ बलमा १ रन बनाएका रिजाल एल्बिडब्लु आउट भए। क्रिजमा टिकेर खेलेका नोमान खान समेत कार्कीकै सिकार बन्न पुगे। १६ बलमा १८ रन बनाएका खान एल्बिडब्लु आउट भए। किशोर महतोेले १ रन बनाउन सकेनन् । राजेश पुलामी मगर ० रनमै रनआउट हुन पुगे ।
चितवनका लागि भुवन कार्की र करण केसीले सर्वा्धिक ३ विकेट लिँदा रोहन मुस्तफा २ विकेट लिए । शन्नी पटेलले एक विकेट हात पारे ।
यसघि पोखरा क्रिकेट रंगशालामा टस हारेर ब्याटिंगमा उत्रेको चितवनले ४ विकेटको क्षतीमा १४६ रन बनाएको थियो। चितवनका लागि आरिफ शेखले सर्वा्िधक ३९ रन बनाए। २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
कप्तान तथा ओपनर पारस खड्काले ३५ रन बनाए। ३८ बल खेलेका उनले ५ चौकाका साथ ३५ रन बनाएका हुन्। उनलाई मुहम्मद जैद आलमले नोमान खानको हातबाट क्याच आउट गराएका थिए। यसअघि अर्का ओपनर रोहन मुस्तफाले ७ रन मात्र गराउन सके। १० बल खेलेका उनी जितेन्द्र मुखियाको बलमा राजु रिजालको हातबाट क्याच आउट हुन पुगे।
चितवनका लागि सन्नी पटेलले ८ बलमा २७ रन बनाउन सके। बबार हयातले २५ रन बनाए। उनलाई किशोर महतोले राजु रिजालको हातबाट क्याच गराए। यस्तै अनिल कुमार शाहले १४ बल खेल्दै ३ रन मात्र बनाउन सके। उनलाई पुनित मेहेराले आउट गराएका थिए।
विराटनगरका लागि जितेन्द्र मुखिया, मुहम्मद जैद आलम, पुनित मेहेरा, किशोर महतोले समान १(१ विकेट हात पारे।
प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वािधक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।
