
लेखनाथ । कास्कीको लेखनाथमा १६ औं संस्करणको लेखनाथ महोत्सव जारी छ । महिलाहरुले मात्र मनोरन्जनका लागि गाउने रत्यौलीलाई महोत्सवको स्टेजमा प्रस्तुत गर्दा महोत्सवलाई थप रोचक बनाएको छ ।
पुरुषले हेर्न नहुने भन्ने प्राचिन भनाई रहे पनि महोत्सवको स्टेजमा देखाईएको रत्यौलीमा सवै प्रकारका दर्शकहरुले अभिरुचिका साथ हेरेको देखिन्थ्यो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ पुष ३ गतेदेखि संचालित १६ औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको रत्यौली गीतले दर्शकहरुको आकर्षण बढेको हो ।
सबै तहका दशकहरुलाई मनोरन्जन दिने उद्देश्यले राखिएको रत्यौली गीतमा एका तिर जग्गीया र अर्कोतर्फ बेहुला/बेहुली नै बनाएर रत्यौली गीत मार्फत स्टेजमा लुठोसहितको नृत्यले दर्शकहरुको मन जितेको पाईएको थियो ।
महोत्सवलाई थप रोचक बनाउन राखिएको रतौली गीतमा सहभागी भएका १५ समूहमध्ये सोमबार नमुना आमा समुह पोखरा-२५ र खराने ताजा तरकारी कृषक समुहको प्रस्तुती रहेको आयोजकले जनाएको छ । सोमबार मात्र करिब एक करोड बरावरको आर्थीक कारोवार भएको संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका छन् ।
सोमबार करिब २० हजार दर्शकले मेलाको अवलोकन गरेको र अहिलेसम्म एक लाख २० हजार दर्शकले मेलाको अवलोकन गरेको बताइएको छ । र पाँच करोड ५० लाख बराबरको आर्थीक कारोवार भएको संघका उप महासचिव तथा प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले दाबी गरेका छन् ।
