विद्यार्थीको आन्दोलन फिर्ता, अवैधानिक स्कूल बन्द गर्ने सहमति

Share:

नवराज ढुङ्गाना
पोखरा, १४ मंसिर
अवैधानिक शैक्षिक संस्था बन्दको माग राखेर आन्दोलनमा उत्रिएका विभिन्न विद्यार्थी संगठनले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन गरेका छन् । पक्राउ परेका अखिल क्रान्तिकारीका कार्यकर्ता नेत्र चापागाईंलाई प्रहरीले रिहाई गरेपछि, विद्यार्थीहरुले दिउँसो १२ बजेपछि, आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा बिहान भएको वार्तामा प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीले अवैध शैक्षिक संस्था बन्द गराउने प्रतिबद्धता जनाएपछि, बन्द फिर्ता लिईएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य अमरदिप पराजुलीले जानकारी दिए ।
“प्रशासनले आजैदेखि अवैध शैक्षिक संस्था बन्द गराउन प्रक्रिया सुरु गरेको छ ।” उनले भने– “पक्राउ परेका कार्यकर्ता पनि रिहाई भएपछि, बन्द फिर्ता लिईएको हो ।”
यो सहमतिसँगै जिल्ला शिक्षा कार्यालय कास्कीमा गत बिहीबारदेखि लागेको तालासमेत खुलेको छ ।
आफ्ना मागप्रति प्रशासनले चासो नदिएको भन्दै कास्कीमा क्रियशिल विद्यार्थी संगठनहरु एनेकपा र नेकपा माओवादी समर्थित अखिल क्रान्तिकारी, अनेरास्ववियू, अनेरास्ववियू छैठौं, अग्रगामी विद्यार्थी युनियन लगायतले बिहीबारदेखि अन्दोलन सुरु गरेका थिए । उनीहरुले जिल्ला शिक्षा अधिकारी चढेको गाडी र कुर्सी समेत जलाईदिएका थिए भने शुक्रबार पनि सबै शैक्षिक संस्थामा पठनपाठन ठप्प पारेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: