विराटनगरले जित्दा काठमाडौँलाई धक्का, इलिमिनेटरमा बुटवल र विराटनगर खेल्ने

Share:

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग त्रिकेटको फाइनल प्रवेशका लागि बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स खेल्ने भएका छन् । बुधबार भएको लिग चरणको अन्तिम खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई हराँउदै फाइनल नजिक पुगेको हो ।

आजको खेल विराटनगरले जित्दा इलिमिनेटर खेल्ने आशामा रहेको काठमाडौँलाई भने धक्का पुगेको छ । विराटनगरको जितले काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ । आजको खेलमा विराटनगर पराजित भएको भए काठमाडौँ नेट रन रेटको आधारमा अगाडि रहँदै इलिमिनेटरमा पुग्ने थियो । अंक तालिकामा समान अंक भए पनि बुधबारको खेल जितेर नेट रन रेटमा विराटनगर अगाडि रहेकाले काठमाडौँले इलिमिनेटर खेल्ने मौका गुमाएको हो ।

बुधबारको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बुटवलले पूरै २० ओभरमा १ सय ३३ रन बनायो । बुटवलका लागि हर्ष टंकले अर्धशतक बनाए । ४४ बल खेलेका उनले ६ चौका र ५ छक्काको सहयोगमा ६७ रन जोडे । शिवम सिंहले २६ बल खेल्दै ३७ रन बनाए । २१ बल खेलेका सिद्धान्त लोहनीले ११ रन जोडे । अन्य खेलाडीको प्रदर्शन खासै राम्रो रहन सकेन ।

विराटनगरका लागि मोहोम्द जैद आलमले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिए । किशोर महतोले २ विकेट लिँदा दिपेश श्रेष्ठ र साहब आलमले एक÷एक विकट लिन सफल भए । १ सय ३४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले ११.४ ओभरमा लक्ष्य भेट्टायो । विराटनगरले ६ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । विराटनगरका लागि नोमन खानले सर्वाधिक ३५ रन जोडे । २२ बल खेल्दा उनले ५ चौका प्रहार गरे ।

पुनित मेहराले १७ बल खेल्दै ३२ रन बनाए । यस्तै मोहोम्द जैद आलमले २४ रन जोडे । उनले १० बल खेल्दा ४ चौका र १ छक्का हाने । पुष्प थापाले १८ रन बनाउँदा लोकेश बमले १३ रन बनाए । बुटवलका लागि नितेश थापाले २ विकेट लिए । यस्तै कमल खत्री, हर्ष टंक र अविनाश बोहोराले समान एक÷एक विकट लिए ।

प्रतियोगितामा चितवन राइनोज सबै खेलमा अपराजित रहँदै फाइनल प्रवेश गरिसकेको छ । ५ खेल खेलेको चितवनले सबै खेल जित्दै १० अंक जोडेर अंक तालिकको शिर्ष स्थानमा छ । यस्तै दोस्रो स्थानमा रहेको बुटवलले ४ खेल जितेर ८ अंक जोडेको छ । चौँथो स्थानको काठमाडौँको ४ अंक छ भने धनगढीको समान ४ अंक छ । विराटनगरको पनि ४ अंक भएको छ ।

घरेलु टोली पोखरा पल्टन भने तालिकको अन्तिममा रहन पुग्दा प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो । डिफेन्डिङ च्याम्पियन पोखराको प्रदर्शन यो संस्करणमा राम्रो रहन सकेन । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ ।

यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिने छ ।
प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ खेलाडीलाई ५० हजार रुपैंया पाउने छन् । साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिँदै आएको छ । फाइनल प्रवेशका लागि बिहिबार बुटवल र विराटनगर नै भिड्ने छन् । यी दुई टोली बीचको खेल साढे ११ बजे पोखरा रंगशाला भित्रको क्रिकेट मैदानमा हुने छ ।

कमेन्ट गर्नुहोस्
Share: