जब छोरी चढाएपछि सोहि स्कूल बसले सरिताको ज्यान लियो, बालोदयका बस चालक राई नियन्त्रणमा (घटना विवरण)

Share:

पोखरा । पर्वत कुस्मा १३ घर भई हाल पोखरा १७ बिरौटामा बस्दै आएकी २६ वर्षीया सरिता पौडेल (सुवेदी) का दुई छोरी छन् । श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् । सरिताको माइतीघर भने स्याङ्जा बाङ्सिङ हो । आफ्नै छोरी चढाएको स्कूल बसले किचेर सरिताले दुःखद मृत्युवरण गर्नुपरेको छ । चालक र परिचालकको असावधानीले उनले ज्यान गुमाउनुपरेको प्रत्यक्षदर्शीको भनाई छ ।

सात वर्षकी जेठी छोरी समृद्धिलाई नजिकैको बालोदय स्कूलमा भर्ना गरेकी थिईन् । सधैं झैं मंगलबार पनि सरिताले छोरी समृद्धिलाई स्कुल जानका लागि तयार पारिन् । आफूले खाना बनाइन् छोरीहरूलाई पनि खुवाइन् ।  दुई वर्षीया नाबालिका कान्छी छोरी सँगै बस्ने छिमेकीको जिम्मा लगाएर समृद्धिको हात समाउँदै चोकमा पुगेर बस कुरिन् ।

पोखरा–१७ बिरौटास्थित बालोदय बोर्डिङ स्कुलको बस सधैंको बिहानीझैं आइपुग्यो । करिब पौने १० बजेको हुँदो हो । कक्षा एकमा पढ्ने छोरीलाई सो स्कुलको ग.१ख २४९९ नम्बरको बसमा चढाइन् र आफू पनि चढिन् । छोरीले ‘मम्मी बाईबाई’ भनिन्, सरिताले पनि ‘बाई’ फर्काइन् र बसबाट ओर्लिन् । तर, विडम्बना बस एक छिन पनि रोकिएन । उनी झरी नसक्दै बसले लता¥यो । पछाडिको चक्कामा परिन् । घाँटी तलको भागमाथिबाट चक्का गुड्यो ।

तत्काल नजिकैका युवाहरु त्यहाँ पुगे । एउटा प्रहरीको गाडी देखे, तर पावरहाउसतर्फ अघि बढेको प्रहरी भ्यान नरोकिएको स्थानीय युवाले बताएका छन् । बाटोमा आइरहेको एउटा गाडी रोकेर सरितालाई तत्काल उपचारार्थ फेवा सिटी अस्पताल पठाए । त्यहाँबाट पुनः गण्डकी अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) रेफर भयो । हामीहरूले दुःखद घटना भएको थाहा पाएपछि गण्डकी अस्पताल पुग्दा उनको मृत्यु भइसकेको रहेछ ।

श्रीमान् टेकनारायण सुवेदी वैदेशिक रोजगारीका लागि विदेश गएपछि छोरीहरू पढाउन सरिता चार वर्षअघि पोखरा झरेकी हुन् । टेकनारायण वैदेशिक रोजगारमा जानेआउने गरिरहन्छन् । उनलाई घटनाबारे जानकारी दिइसकिएको र नेपाल फर्किंदै छन् ।  बालोदय स्कुलका संस्थापक दुर्गा पंगेनीले पढाइमा समेत समृद्धि जेहेन्दार विद्यार्थी रहेको जनाए । उनले पीडित परिवारको लागि विद्यालयले के गर्ने भन्नेबारे छलफल जारी रहेको बताए ।

सोच्दै नसोचेको कारुणिक घटनाले परिवारमा बिचल्ली निम्तिएको छ । दुई छोरी नाबालक छन् । घटनापछि पीडित पक्ष, स्कुल प्रशासन, प्रहरी प्रशासनबीच वडा प्रहरी कार्यालय बैदाममा राति वार्ता पनि चल्यो ।

प्रहरी भन्छः मापसे गरेको रिपोर्ट आएन

बालोदय माविको ग १ ख २४९९ नम्बरको बस र त्यसका चालक सुनसरी धरान १९ का रविन राई प्रहरी नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस चालक यसअघि मापसे गरेर गाडी चलाउने भेटिएको आरोप लागेको छ । मंगलबार भने चालकको स्वास्थ्य रिपोर्टमा मापसे गरेको नदेखिएको प्रहरीले बताएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी यादव ढकालले रिपोर्टमा मापसे नभेटिएको जानकारी दिए ।

मापसे गरेर बस चलाउने गर्दा पनि विद्यालय मौनः अनेरास्ववियू

विद्यार्थीहरुले भने विद्यालय समेत गम्भिर नबन्दा यस्तो घटनाको सामना गर्नुपरेको बताएको छ । अनेरास्ववियु, जनप्रिय बहुमुखी क्याम्पस संगठन विभाग प्रमुख विनय पराजुलीले एक विज्ञप्ती जारी गर्दै यसअघि पनि बस चालक मापसे गरेर बस चलाउने गरेको भेटिएको जानकारी गराएका छन् ।

विज्ञप्ती यस्तो छः

 

कमेन्ट गर्नुहोस्
Share: