कास्कीका सबै अबैध शिक्षण संस्था बन्द हुने, विद्यार्थीको आन्दोलन कार्यक्रम स्थगित

Share:

रञ्जन अधिकारी पोखरा, १४ मंसिर /कास्कीमा सञ्चालन हुँदै आएका सबै अवैधानिक शैक्षिक संस्था बन्द हुने भएका छन् । पाँच बढि संस्थामा आईतबार नै तालाबन्दी गरिएको छ । प्रशासनकै सहभागितामा विद्यार्थीहरुले तालाबन्दी गरेको जनाएकाछन् ।

कानुन विपरित सञ्चालित शिक्षण संस्था बन्दको माग गर्दै आन्दोलनमा उत्रिएका पाँच विद्यार्थी संगठन र जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला शिक्षा कार्यालय कास्कीका प्रमुख सहितको वार्ता सहमतिमा पुगेपछि आन्दोलित विद्यार्थी संगठनले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन गरेका हुन् । । जिल्ला प्रशासन कार्यालय कास्कीमा आईतबार बिहान भएको वार्तामा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले अवैध शैक्षिक संस्था बन्द गराउने प्रतिबद्धता जनाएपछि सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको अनेरास्ववियूका नेता अर्जुन अधिकारीले जानकारी दिए ।

गत विहिबार जिशिअको कुर्ची जलाउँदै गरेको अबस्थामा प्रहरीको फन्दामा परेका अनेरास्वबियु क्रान्तिकारीका केन्द्रीय सदस्य नेत्र चापागाईलाई छाडेपछि विद्यार्थीहरुले शैक्षिक संस्था बन्दको कार्यक्रम स्थगन गरिसकेका छन् । यो सहमतिसँगै जिल्ला शिक्षा कार्यालय कास्कीमा गत बिहीबारदेखि लागेको तालासमेत खुलेको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य अमरदिप पराजुलीका अनुसार प्रशासनले अवैध शैक्षिक संस्था बन्द गराउन प्रक्रिया थाल्ने सहमतिसँगै अनुगमन पनि सुरु गरिएको छ । जिल्ला शिक्षा अधिकारीले अवैध रुपमा सञ्चालनको अनुमति दिएको भनिएको मासबारमा सञ्चालित ह्याप्पी बोर्डिङ्ग स्कूलले पनि औपचारिक रुपमा संस्था बन्द गरेको पत्र आईतबार नै प्रशासनमा पठाएको पराजुलीले जानकारी दिए । ह्याप्पी बोर्डिङमा ताला ठोकिएको छ ।
189592_132821673455847_5378903_n
आईतबार अनुगमनका क्रममा अन्य आठ शैक्षिक संस्थामा पनि तालाबन्दी गरिएको छ । नर्सिङ तयारी कक्षा लिने नाममा चर्को बार्गेनिङ गर्दै आएको मार्गदर्शन एकेडेमीमा ताला लगाईएको विद्यार्थी नेता मणि न्यौपानेले जानकारी दिए । अन्य अवैधानिक शैक्षिक संस्थाहरुमा पनि प्रशासनको सहकार्यमा अनुगमन तथा कारबाही गरिने उनले बताए ।

विद्यार्थी नेता अर्जुन अधिकारीका अनुसार पोखरा पृथ्वीचोक बसपार्क नजिकैको होली एञ्जल बोर्डिङ स्कूल, एयरपोर्ट नजिकैको माउण्ट हेभन बोर्डिङ स्कूल, नागढुंगाको द नेस्ट एसएलसी होस्टलमा पनि ताला लगाईएको छ । यस्तै, रिड एकेडेमी, गणेश एजुकेशन फाउण्डेशन, मेरील्याण्ड ट्युशन सेन्टर, गेटवे कोचिङ्ग सेन्टरमा पनि तालाबन्दी गरिएको छ ।

कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले नियमसम्मत नभएका शैक्षिक संस्था बन्द गर्नका लागि टोली खटिईसकेको जानकारी दिए । ‘विधान विपरित संचालित संस्थाहरु बन्द गरिनेछ’–उनले भने–’मापदण्ड पुरा गर्छन् भने प्रक्रिया अनुसार नै पुनः सञ्चालनमा आउन सक्नेछन् ।’ उनले नयाँ सञ्चालनका लागि पुसमा आवेदन खुल्ला गर्ने बताउँदै आवेदन दिई प्रक्रिया पूरा गरेमा निर्वाध सञ्चालन हुन सक्ने बताए । कास्कीमा एक सय ५० बढि होस्टल, ट्युशन ईन्स्टिच्यूट तथा कोचिङ सेन्टर, मन्टेश्वरी, बोर्डिङ सञ्चालनमा रहेको विद्यार्थी संगठनको दाबी छ ।

धेरै अघिदेखि अवैध शिक्षण संस्था बन्द गर्नुपर्ने आफ्ना मागप्रति प्रशासनले चासो नदिएको भन्दै कास्कीमा क्रियाशिल विद्यार्थी संगठनहरु नेकपा–माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीका साथै अखिल क्रान्तिकारी, अनेरास्ववियू, अनेरास्ववियू छैटौं र अग्रगामी विद्यार्थी यूनियन आन्दोलित भएका थिए । उनीहरुले जिल्ला शिक्षा अधिकारीको गाडी र कुर्सी जलाउनुका साथै महिला विकास कार्यालयको गाडी, नोवल एकेडेमीको ल्यापटप पनि जलाएका थिए भने शुक्रबार अधिकांश विद्यालयमा पठनपाठन ठप्प पारेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: