
पोखरा । सरकारबाट बाहिरिएसँगै समाजवादी पार्टी नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधवार बसेको दलको केन्द्रीय कार्यकारीणी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । बैठकलगत्तै पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक घोषणा गरेको हो ।
समाजवादी पार्टी नेपालका महासचिव एवं संगठन विभाग प्रमुख गंगा श्रेष्ठले कार्यकारीणी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए । समाजवादीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ओली सरकार बहुमतको सरकार मात्र बनेको छ । उसको दुई तिहाइ हटेको छ । केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइको सरकार बनाएको उपप्रधान एवं कानूनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले मंगलबार आकस्मिक रुपमा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र सहरी विकासमन्त्री इस्तियाक राईले राजीनामा दिएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकमा कानूनमन्त्रीको हैसियतमा आफूले संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्दा प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको र यसअघि सरकारमा सहभागी हुने क्रममा गरिएको दुई बुँदे सहमति भंग भएको यादवले उल्लेख गरेका छन् ।
दुई तिहाइको दम्भ समाप्त भयो : उपेन्द्र यादव
पत्रबार सम्मेलनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफुहरूले समर्थन फिर्ता लिएपछि सरकारको दुई तिहाइको दम्भ समाप्त भएको बताए । “सरकारको दुईतिहाईको दम्भ अन्त्य भयो । कम्युनिष्टबाहेक अरू पनि छन् भन्ने पनि अन्त्य भयो,” उनले भने । यादवले समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने पनि बताए । संविधान संशोधनको विषयमा हस्ताक्षर गरेर पनि प्रधानमन्त्री केपी ओलीले धोका दिएको उनको आरोप थियो ।
यादवले राजपा नेपाल सरकारमा जानु भनेको आत्महत्या गर्न जानुजस्तै भएको टिप्पणी गरेका छन् । अध्यक्ष यादवले भने, ‘राजपा नेपाल सरकारमा जानु भनेको आत्महत्या गर्नुजस्तै हो । मलाई राजपा नेपाल जानी जानी आत्महत्याको बाटोमा जाला जस्तो लाग्दैन ।’ उनले राजपासँग पार्टी एकताको पहल भइरहेको भन्दैआफूहरु सरकारबाट बाहिरिएसँगै मार्गप्रशस्त भएको बताए । राजपाले सरकारबाट बाहिरिए एकता हुँदै आएको स्मरण गर्दै यादवले अब एकताको लागि घनिभूत प्रयास हुने बताए ।
सदन र सडक तताउँछाैं : डा. बाबुराम भट्टराई
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सदन र सडक आन्दोलन चर्काउने बताए । पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले सरकार संविधान संशोधनको पूर्वसहमतिबाट पछि हटेको भन्दै सदन र सडक आन्दोलन गरेर संशोधनका लागि दबाब बढाउने चेतावनी दिए। भटराइले तीनवटा विषयमा संविधान संशोधन गर्नुपर्ने बताए ।
पहिचानमा आधारित संघीयता आवश्यक रहेको र अहिलेको ७ प्रदेश उपयुक्त नभएकोले यसको संशोधन गर्नुपर्ने उनको माग छ। शासकीय स्वरुप पनि ठीक नभएको भन्दै नयाँ व्यवस्था हुनुपर्ने माग गरे। ‘अहिलेको शासकीय स्वरुपको आधारमा प्रधानमन्त्रीले आफू माताहत सरकारी निकायहरु राखेको र कठोर हुँदै गएकोले यो संशोधन गर्न आवश्यक छ,’ उनले भने।
प्रधानमन्त्री मातहत राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान र सम्पत्ति सुद्धिकरण विभाग लगायत विभिन्न निकाय आफूमातहत राखेर प्रधानमन्त्रीले शासकीय स्वरुपलाई गलत प्रयोग गरिरहेको भन्दै यसलाई संशोधन गर्न समाजवादीले जोडदार माग गर्दै कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कार्यान्वयन गर्नुपर्ने दोहोर्याएका थिए ।
