
पोखरा । कास्कीको निर्वाचन क्षेत्र नम्बर १ का लागि १० करोडका योजना सार्वजनिक गरिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि १० करोडका योजना सार्वजनिक गरेका हुन् ।
कास्की–१ बाट प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुईसहित एक समानुपातिक गरी ४ जना सांसद छन् । प्रतिनिधि सभा सदस्य खगराज अधिकारी, प्रदेश सभा १ ‘क’ बाट दीपक कोइराला, प्रदेश सभा १ ‘ख’ बाट मनबहादुर गुरुङ र समानुपातिकतर्फ गायत्री गुरुङ छन् । प्रतिनिधि सभा सदस्यले ६ करोड र प्रदेश सभा सदस्यले २ करोड खर्चिन पाउने व्यवस्था छ ।
सार्वजनिक गरिएका योजनामा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ । प्रतिनिधि सभा सदस्य अधिकारीले ३०, प्रदेश सभा सदस्य कोइरालाले २५ र सदस्यद्वय गुरुङले १९ गरी कूल ७४ वटा योजना छनोट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७५ ले प्रतिनिधि सभा सदस्यले १० लाख भन्दा माथिको योजना छनोट गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तै प्रदेश सभा सदस्यले १ लाख माथिको योजना छनोट गर्नुपर्ने यवस्था प्रदेश सरकारको कार्यविधिले गरेको छ । सोही कार्यविधि अनुसार सदस्यहरुले योजना छनोट गरेका हुन् ।
सांसद अधिकारीले आफ्नो क्षेत्रका ३० योजना मध्ये २४ योजनालाई १०/१० लाख छुट्याएका छन् । उनले रुपा गाउँपालिकाको रामकोट–रामादी सडकलाई १ करोड ५० लाख विनियोजन गरेका छन् । सांसद अधिकारीले कृषि उपज संकलन केन्द्र, वन्यजन्तु पार्क निर्माण, मन्दिर ढल निर्माण, वृद्धाश्रम, पैदल मार्गलगायतमा बजेट विनियोजन गरेका छन् ।
प्रदेश सभा-१ ‘क’ बाट निर्वाचित सांसद दीपक कोइरालाले भवन निर्माणमा बढी बजेट विनियोजन गरेका छन् । उनले खेलकुद मैदान, शहिद पार्क र कर्भड हल निर्माणलाई प्राथमिकता दिएर २ करोड खर्चिएका छन् ।
यस्तै प्रदेश-१ ‘ख’ का सांसदद्वय गुरुङले पनि सडक निर्माण, खेलकुद पूर्वाधार र खानेपानी योजनामा बजेट विनियोजन गरेका छन् । सांसदद्वयले भयू टावर र खानेपानी योजनालाई धेरै रकम छुट्याएका छन् । उनीहरुले पोखरा २८ ठूला कोटमा बन्ने भ्यू टावर र पोखरा १४ को खानेपानी योजनालाई समान २५/२५ लाख छुट्याएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै सांसद अधिकारीले योजनालाई समयमै सम्पन्न गर्ने कुरामा प्रतिबद्ध रहेको सुनाए । समयमै काम नहुँदा बजेट फ्रीज हुने अवस्था विद्यमान रहेको बताउँदै उनले अब त्यस्तो नहुनेमा जोड दिए । ‘योजना समयमै सम्पन्न नहुँदा बजेट फ्रीज हुने गरेको छ । अब त्यस्तो हँदैन,’ उनले भने ।
प्रदेशको कार्यविधिमा योजना छनोट गर्दा रोजगारी, जनसहभागिता, पर्यटन, जोखिम न्यूनीकरण, स्थानीय तहका बजेट अपुग भएका योजनाहरुलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ । सोही व्यवस्थाबमोजिम योजना छनोट गरेको सांसदहरुले दाबी गरेका छन् ।
प्रतिनिधि सभा सदस्य खगराज अधिकारीका याेजना::
प्रदेश सभा सदस्य कोइरालाका याेजना::
प्रदेश सभा सदस्यद्वय गुरुङका याेजना




