आज बुटवल र विराटनगर खेल्दै, कुन टिम पुग्ला फाईनल ?

Share:

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)मा आज ईलिमिनेटर राउण्डको खेल हुँदैछ । पोखरा क्रिकेट मैदानमा हुने खेलमा बुटवल व्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोली बीचको खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ । आजको खेल जित्ने टोलीले उपाधिका लागि शनिबार चितवन राईनोजको सामना गर्नेछ । लिग चरणको अन्तिम खेलमा बुधबार बुटवललाई हराउँदै विराटनगर तेस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा प्रवेश गरेको हो ।

विराटनगर प्रदीप एरीको नेतृत्वमा छ भने बुटवल सोमपाल कामी कप्तान रहेको टोली हो । प्रतियोगितामा चितवन राइनोज सबै खेलमा अपराजित रहँदै फाइनल प्रवेश गरिसकेको छ । ५ खेल खेलेको चितवनले सबै खेल जित्दै १० अंक जोडेर अंक तालिकको शिर्ष स्थानमा छ । यस्तै दोस्रो स्थानमा रहेको बुटवलले ४ खेल जितेर ८ अंक जोडेको छ ।

चौँथो स्थानको काठमाडौँको ४ अंक छ भने धनगढीको समान ४ अंक छ । विराटनगरको पनि ४ अंक भएको छ । घरेलु टोली पोखरा पल्टन भने तालिकको अन्तिममा रहन पुग्दा प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो । डिफेन्डिङ च्याम्पियन पोखराको प्रदर्शन यो संस्करणमा राम्रो रहन सकेन ।

नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ । यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिने छ ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ खेलाडीलाई ५० हजार रुपैंया पाउने छन् । साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: