तनहुँमा फेरि चितुवा खोरमा पर्यो

Share:

तनहुँ । तनहुँमा फेरि अर्को चितुवा खोरमा परेको छ । व्यास नगरपालिका–९ बिर्तास्थित सामुदायिक वनमा थापिएको काठको खोरमा परेर बिहिबार एउटा चितुवा नियन्त्रणमा आएको हो । चितुवा नियन्त्रणका लागि स्याकुनथोक सामुदायिक वनमा राखिएको काठको खोरमा बिहिबार बिहान चितुवा परेको हो ।

६/७ वर्षको उक्त पोथी चितुवाको तौल ३५ किलो रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । चितुवाको आतङ्क बढेपछि सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठको खोर बनाइएको छ । भानु नगरपालिकामा सबैभन्दा बढी चितुवा आतङ्क छ । भानु नगरपालिकामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भइसकेको छ । भानु नगरपालिकासँग सिमाना जोडिएको व्यास नगरपालिका–९ मा पछिल्लो समय चितुवाको आतङ्क बढ्न थालेको स्थानीयवासी बताउँछन् ।

भानु नगरपालिका–१, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा पनि चितुवा नियन्त्रणका लागि काठको खोर निर्माण गरेर राखिएको छ । भानुका सामुदायिक वनमा काठको खोरमा परेर हालसम्म चार चितुवा नियन्त्रणमा आइसकेको छ । त्यस्तै केही समय अगाडि व्यास नगरपालिका–१ मुसेखोला र व्यास नगरपालिका–७ कलेस्तीमा चितुवा मृतावस्थामा फेला परेको थियो ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: