
पोखरा । विराटनगर टाईटन्स पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा पुगेको छ । बिहिबार भएको ईलिमिनेटर खेलमा बुटवल ब्लास्टर्सलाई पराजित गर्दै विराटनगरले चितवन राइनोजसँगको भेट पक्का गरेको हो ।
विराटनगरले बुटवललाई २१ रनले पराजित गरेको हो । अब विराटनगरले उपाधिका लागि शनिबार चितवन राइनोजको सामना गर्नेछ । टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले ५ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको बुटवलले २० ओभरमा अलआउट हुँदै १ सय ४४ रन मात्र बनाउन सक्यो ।
एक खेल पनि नहारेको चितवन फाइनल प्रवेश गरिसकेको छ । नेपाली क्रिकेटमा सर्वा्धिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ ।
यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिने छ ।प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ खेलाडीलाई ५० हजार रुपैंया पाउने छन् ।
