पोखरा सडक महोत्सव : ‘बढी मूल्य लिएको प्रमाणसहित उजुरी परे कारबाही गर्छौं’

Share:

पोखरा । शनिबारदेखि शुरु हुने २१ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) ले बिहिबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर पुस १६ गतेसम्म चल्ने महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर हरेक वर्ष आयोजना हँदै आएको महोत्सव अवलोकन गर्न विभिन्न ठाउँबाट दर्शकहरु पोखरा आउने गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै रेबान पोखराका अध्यक्ष भीमसेन भुजेलले पोखराको पर्यटन र भ्रमण वर्ष–२०२० को प्रवर्धनका लागि नेपालकै ठूलो महोत्सव मध्येको सडक महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने छ ।

आयोजकका अनुसार यो सडक क्षेत्रमा खानेकुराका विभिन्न परिकारका स्टलहरु रहने छन् । सबै गरेर २५ स्टल रहने बताइएको छ । महोत्सवमा नेपालका विभिन्न कला संस्कृति झल्कने प्रदर्शनी, साँस्कृतिक कार्यक्रम, हस्तकला प्रदर्शनी, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, बालउद्यान, लाइभ कन्सर्ट, लोक दोहोरी हुने अध्यक्ष भुजेलले जानकारी दिए । भ्रमण वर्ष २०२० को उद्घाटन पनि महोत्सव स्थलबाट गर्ने गरी तयारी भईरहेको छ ।

भ्रमण वर्षका अवसरमा पोखराको गौरीघाटमा रहेको शाही राजाको दरबार रत्न मन्दिर खुलाउने तयारी छ । भ्रमण वर्षको मुख्य आकर्षणका रुपमा रहने दाबीसहित खुलाउने बताइएको सो दरबार खुल्छ वा खुल्दैन भन्ने पनि अन्योल नै छ । महोत्सवको उद्धघाटन संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्ने महोत्सव संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

हल्लनचोकबाट सुरू हुने विभिन्न साँस्कृतिक झाँकीसहितको र्याली कोमागाने पार्क पुग पछि महोत्सवको उद्धघाटन गरिने छ । महोत्समा सुरक्षालाई मध्येनजर गरेर सिसि क्यामरा पनि जडान गरिएको छ । महोत्सव हुने ३ किलोमिटर क्षेत्रमा ४ वटा स्टेज राखिने छन् । त्यहाँ विभिन्न साँस्कृतिक प्रस्तुती देखाइने छ ।

चर्को मूल्य लिए कारबाही

सडक महोत्सवको समयमा खानेकुराको मूल्य र होटल भाडालाई लिएर हरेक वर्ष विवाद हुने गरेको छ । समस्या पहल गर्नका लागि हरेक वर्ष आयोजकले पहल नगरेको भने होइन । यसपटक ठगी गर्नेमाथि निगरानी गर्ने र कारबाही गरिने महोत्सवका सह–संयोजक नरेश भट्टराईले बताए । पर्यटकसँग मूल्य बढी लिए/नलिएको बारे अनुगमन गर्न अनुगमन समिति नै बनाइएको छ ।

आयोजकले खानेकुरा र होटल भाडा बढी लिएको पाए खबर गर्न पर्यटकलाई आग्रह गरेको छ । स्वइच्छा महोत्सव क्षेत्रमा स्टल राख्न पनि प्रतिबन्ध लगाइएको छ । सडकपेटीमा स्टल राख्नका लागि आयोजक संस्थाको सदस्य हुनुपर्ने छ । ‘यो पटक त्यो अवस्था आउँदैन । हामीले निश्चत मूल्य सूची राखिदिन्छौँ,’ महोत्सवमा ठगी हुने गरेको स्वीकार गर्दै उनले भने, ‘यो पटक तोकिएकोभन्दा बढी मूल्य लिएको प्रमाणसहित उजुरी परे कारबाही गर्छौं ।’

आतिसबाजी अन्योलमा

महोत्सवको आकर्षणको रुपमा आतिसबाजीलाई लिने गरिएको छ । तर महोत्सवको मिति नजिँदासमेत आतिसबाजी हुन्छ वा हँदैन भन्नेमा स्वयम आयोजक नै अन्योलमा छ । सरकारसँग अनुमति मागिएको र अनुमति प्राप्त भए यस वर्ष आतिसबाजी गरिने सहसंयोजक नरेश भट्टराईले स्पष्ट पारे ।

‘हालै मात्र सागमा आतिसबाजी गरेको सबैले देख्यौँ, त्यसैले पनि हामीलाई आतिसबाजीका लागि अनुमति प्राप्त हुने विश्वास छ,’ उनले भने, ‘अनुमति प्राप्त भए आतिसबाजी हुन्छ ।’ आतिसबाजीका लागि केन्द्र र प्रदेश सरकारसँग अनुमति मागिरहेको उनले बताए ।

सम्पदा एवं पर्यावरण संरक्षण र समग्र प्राणी जगतको भलाइका लागि भन्दै गएको वर्ष अदालतमा मुद्दा दायर भएको थियो । मुद्दा बारे फैसला सुनाउँदै उच्च अदालत पोखराले सडक महोत्सवमा नयाँ बर्षमा आतिसबाजी नगर्न अन्तरिम आदेश जारी गरे पछि आतिसबाजी गरिएको थिएन ।

नयाँ वर्षको सुरुवातको संकेतको रुपमा रातको ठीक १२ बजे आतिसबाजी गर्ने गरिन्छ । सुरक्षा व्यवस्था बलियो बनाएर मनोरन्जनका लागि आतिसबाजी गरिने आयोजकले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: