पीपीएल फाइनल: गणितीय हिसाबमा को बलियो ?

Share:

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल शनिबार हँदैछ । उपाधिका लागि चितवन राइनोज र बिराटनगर टाइटन्स खेल्दै छन् । शनिबार पोखरा क्रिकेट मैदानमा चितवन र बिराटनगर बिचको खेल ११ः३० मा सुरू हुनेछ।

पीपीएलको गत संस्करणको उपविजेता समेत रहेको चितवनले लिग चरणका सबै खेल जित्दै फाइनलमा आफ्नो स्थान बनाएको थियो। यस्तै बिहिबार भएको ईलिमिनेटर खेलमा बुटवल ब्लास्टर्सलाई पराजित गर्दै विराटनगरले चितवन राइनोजसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा चितवन ‘मस्ट फेवरेट’ टिमका रुपमा देखिएको छ । यता प्रतियोगितामा ‘अन्डरडग्स’का रुपमा उदायको विराटनगरले चितवनलाई कडा प्रतिस्पर्धा दिने आश गरिएको छ ।

लिग अन्तर्गत भएको खेलमा विराटनगगर चितवनसँग पराजित भएको थियो । त्यस खेलमा विराटनगरले प्रतिस्पर्धात्मक खेल खेल्दा चितवनले १८ रनको जित हात पारेको थियो । प्रतियोगितामा चितवन एक मात्र अपराजित टिम हो । ५ खेल खेलेको चितवनले ५ मा नै जित हात पारेको थियो ।

यता विराटनगर भने दुई खेलमा नाटकीय जित निकाल्दै फाइनलसम्म आइपुगेको हो । सुरुवाती ३ खेल गुमाएको विराटनगरले महत्तवपूर्ण दुई खेलमा जित निकाल्दै फाइनल सम्मको यात्रा तय गरेको हो ।

लिगमा काठमाडौँले चितवनसँग हारीसकेपछि समीकरण के रहेको थियो भने प्लेअफ पुग्न विराटनगरले बुटवलसँग जित्नुको विकल्प थिएन । काठमाडौँ प्लेअफ पुग्न विराटनगर हार्नै पर्ने थियो । उक्त खेल विराटनगरका लागि पक्कै सजिलो थिएन । बुटवलले खेलमा विराटनगरलाई १३४ रनको लक्ष्य दियो । अङ्क तालिकामा काठमाडौँ भन्दा रनरेटका आधारमा पछि रहेको विराटनगरले खेललाई १२.२ ओभर भित्र सक्नु जरुरी थियो । अघिल्ला खेलमा राम्रो प्रदर्शन गर्न असमर्थ विराटनगरले उक्त खेलमा नाटकीय जित हात पार्यो, त्यो पनि ११.४ ओभरमै ।

यस्तै प्लेअफमा पनि विराटनगरले बुटवल माथि नै २१ रनको जीत हात पार्यो । टस हारेर ब्याटिङ गरेको विराटनगरले १६६ रनको लक्ष्य प्रस्तुत गर्यो र बुटवलले केबल १४४ रन मात्र बनाउन सक्यो । यसरी पछिल्ला दुई खेलको नतिजा हेर्दा बिराटनगरले चितवनलाई कडा प्रतिस्पर्धा दिने देखिन्छ ।

प्रतियोगितामा यी दुई फाइनलिष्टको तुलना गर्दा चितवननै बलियो देखिन्छ । विराटनगरको भन्दा चितवनका खेलाडीको व्यक्तिगत प्रदर्शन राम्रो रहेको छ ।

प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सुचीको शीर्ष १० मा चितवनका ३ खेलाडी रहेका छन् भने विराटनगरका १ खेलाडी अटाएका छन् । प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको सुचीको शीर्ष १० मा विराटनगरका भन्दा चितवनकै खेलाडी बढी छन् । उक्त सुचीमा चितवनका ३ तथा विराटनगरका २ खेलाडी छन् ।

विराटनगरले ६ खेलमा बनाएको स्कोर चितवनले ५ खेलमै बनाएको छ । विराटनगरले ६ खेलमा कुल ८०९ रन बनाएर विपक्षी टीमको ४५ विकेट झारेको छ । यता चितवनले ५ खेलमा कुल ८०५ रन बनाएको छ र ४७ विकेट झारेको छ ।

हेविओयट चितवनले आफ्नो विजयी लय जारी राख्दै प्रतियोगिता आफ्नो नाममा राख्न चाहन्छ । नयाँ कप्तानी पाएको विराटनगर ट्रफी घर लैजान चाहन्छ । फाइनलमा हेभिवेट विरुद्ध अन्डरडग्सको खेल रोमाञ्चक हुने सजिलै अनुमान लगाउन सकिन्छ ।

पहिलो संस्करणको उपाधि घरेलु टोली पोखराले जितेको थियो। नेपाली क्रिकेटमा सर्वा्िधक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ ।

यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिने छ ।प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ खेलाडीलाई ५० हजार रुपैंया पाउने छन् ।

कमेन्ट गर्नुहोस्
Share: