
पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को उपाधि चितवन राइनोजले जितेको छ । पोखरा क्रिकेट मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।
पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उप विजेता भएको विराटनगर टाइटन्सले १० लाख रुपैयाँ पाएको छ ।
२ सय ३ रनको फराकिलो लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।
मोहमद जैद आलमले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे पहि टिमलाई जित दिलाउन भने सकेनन् ।
यस्तै कप्तान प्रदिप सिंह ऐरीले ३६ , पुनित मेहेराले ३२ र नोमान खानले १८ रन बनाए । चितवनका करन केसीले ३ तथा सन्नी पटेलले २ विकेट लिए । यस्तै रोहण मुस्तफाले समान १ विकेट हात पारे ।
यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।
चितवनको फराकिलो स्कोरमा अनिल कुमार शाह र रोहन मुस्तफाले अर्धशतकिय इनिङ्स खेले ।
दुवै ब्याट्सम्यानले समान ५०÷५० रन बनाए । यस्तै कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६ र करण केसीले २६ रनको योगदान गरे ।
विराटनगरका पुनित मेहेराले र जैद आलमले समान २र२ विकेट लिए । किशोर महतोले १ विकेट लिए ।
चितवन दोस्रो संस्करणमा अपराजित रहँदै उपाधि जित्न सफल भएको हो । पीपीएल उपाधिसंगै पारसले नेपालमा हुने तीनवटै फ्रेन्चाइज क्रिकेटको उपाधी जित्न सफल भएका छन् ।
