
काठमाडौँ । देशैभरि केही दिनयता लगातार जाडो बढेको छ । बदली तथा वर्षा गराउने मौसमी प्रणालीको प्रभाव नेपालमा नरहेपनि चिसो गराउने प्रणाली भने सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वायुमण्डलको माथिल्लो भेग हुँदै बहने वायुको मुस्लो (जेटस्ट्रिम) को प्रभावले देशैभर चिसो बढेको जनाइएको छ । भारतीय भू–भाग हुँदै चीनको तीब्बततर्फ बहने यस्तो वायुले हिमालय शृंखला र आसपासको भेगलाई छोएर बहँदा तापक्रममा गिरावट आएको र यो क्रम अझै जारी रहने मौसमविद्को ठहर छ ।
यस्तै तराई तथा पहाडी क्षेत्रमा कुहिरो लागेको छ । पहाडी क्षेत्रमा घाम लागेसँगै कुहिरो बिस्तारै हट्दै जाने छ । तर तराईका क्षेत्रमा पनि दिनभरजसो नै हुस्सु र कुहिरो कायम रहने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
