
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आइतबार) बिहान बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको बैठकमा संघीय संसदको सभामुख चयन र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे छलफल हुने नेकपा सचिवालयका एक सदस्यले जानकारी दिए।
यौन दुर्व्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नयाँ अनुहार पठाउने योजना बनाएको छ । सभामुखका सम्भावित उम्मेदवारका रूपमा सुवास नेम्वाङ, अग्नि सापकोटा, पम्पा भुसाल, देव गुरुङलगायतको नाम चर्चामा छ ।
अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे पनि आजको बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।
यसअघि बसेको स्थायी समिति बैठकले यसबारे टुंगो लगाउन नसकेपछि यसको अन्तिम निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो ।
