
पोखरा । स्टेज पछाडिबाट कार्यक्रम संचालक पटकपटक भन्दै थिए – ‘केहि बेरमा कार्यक्रम शुरु हुनेछ, सबै जना धैर्य गरेर बस्नुहोला ।’ शनिबार बेलुका ठीक ८ बजे कार्यक्रम शुरु भयो ।
कार्यक्रम थियो – फेसन शो । मृगतृष्णा फेसन हाउसको आयोजनामा पोखरामा शनिबार भएको फेसन म्यानियामा मोडलहरु फरकफरक पहिरनमा स्टेजमा उत्रिए । ४ वटा सिक्वेन्स प्रस्तुत गर्ने योजना अनुसार मोडलहरु सारी लगाएर स्टेजमा उत्रिए । फरकफरक रङ अनि डिजाइनका सारीमा आधा दर्जन मोडल स्टेजमा आउने वित्तिकै कार्यक्रमको माहोल नै फेरियो ।
एक पछि अर्को गर्दै ३ वटा सिक्वेन्स सकियो । अन्तिम सिक्वेन्स प्रस्तुत गर्नु पहिले संचालकले फेरि भने – ‘यसमा डिजाइनरले धेरै मिहिनेत गर्नु भएको छ । यो स्क्विेन्स अरुभन्दा फरक छ ।’
उनले थपिदिए –‘अब पाल्पाली ढाकाका कपडामा मोडेलहरु देखिनु हुने छ ।’ उनले उदघोष गरेसँगै मोडेलहरु एक पछि अर्को गर्दै स्टेजमा देखिए । सबैले पाल्पाको पहिचान झल्कने ढाका कपडा लगाएका थिए । अन्तिमसम्म गरेर १५ जना मोडेल फरकफरक पहिरनमा आए । सो कार्यक्रममा प्रस्तुत गरिएका सबै डिजाइन चर्चित डिजाइनर तृष्णा गुरुङका थिए ।
तस्बिरमा हेरौँ फेसन मानिया :
तस्बिर-सुजन आचार्य







