नेपाल भ्रमण वर्ष २०२० शुरू : पोखरामा पनि भ्रमण बर्षको भब्य उद्घाटन गरिने, पर्यटकीय पूर्वाधार निर्माणमा १७ करोड ६० लाख लगानी

Share:

पोखरा । सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष–२०२० शुरू भएको छ। काठमाडौं दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) दिउँसो अपराह्न ४ बजे औपचारिक शुभारम्भ गर्नेछिन्।

राष्ट्रपतिबाट भ्रमण वर्षको औपचारिक शुभारम्भ भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य गर्ने कार्यक्रम रहेको छ।

२० लाख बाह्य पर्यटक भित्याउने महत्वकांक्षी लक्ष्यसहित शुरू भएको यो अभियानको शुभारम्भ कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकका पर्यटनमन्त्री तथा अन्य प्रतिनिधिहरू काठमाडौं आइपुग्दै छन्।

पोखरामा भ्रमण बर्षको भब्य उद्घाटन गरिने, पर्यटकीय पूर्वाधार निर्माणमा १७ करोड ६० लाख लगानी

यस्तै, आज राष्ट्रपतिद्वारा भ्रमण वर्षको औपचारिक शुभारम्भ भए सँगै सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले पनि भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । यसै क्रममा गण्डकी प्रदेशको राजधानी पोखराबाट पनि नेपाल भ्रमण बर्षको भब्य रुपमा शुभारम्भ गर्ने तयारी गरिएको नेपाल भ्रमण बर्ष २०२० गण्डकी प्रदेशका संयोजक तथा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बुधबार नेपाल भ्रमण बर्षको शुभारम्भ गर्नेछन् ।

पोखराको लेकसाइड स्थित फिस्टेल गेट अगाडीबाट विभिन्न जनजातिको भेषभुषामा झाँकी सहितको बृहत र्याली बाराहीघाटमा पुगेर औपचारिक शुभारम्भको घोषणा गरिने मन्त्री लम्सालले बताए । प्रदेशका पर्यटकीय गतिविधि सहित यहाँको कला संस्कृतिलाई समेटेर नेपाली, अँग्रेजी र चाइनिज भाषामा पुस्तक समेत प्रकाशनको तयारी गरिएको मन्त्री लम्सालले जनाए ।नेपाल सरकारको भ्रमण बर्षमा २० लाख पर्यटक भित्राउने अभियानमा आफ्नो क्षेत्रबाट समेत सकरात्मक पहल हुने बताएका मन्त्री लम्सालले प्रदेशले गत बर्ष घोषणा गरेको एक सय १० पर्यटकीय गन्तव्यमा यसै बर्ष केही पर्यटकीय गन्तव्यको छनौट गरी सरकारले लगानी गर्ने भएको बताए ।

उनका अनुसार प्रदेशका ११ जिल्लाहरु मध्ये हरेक जिल्लामा करिब ४ वटा पर्यटकीय गन्तव्यको रुपमा पूर्वाधार तथा सौन्दर्यकरणको लागि ४० लाखको दरले अनुदान दिने तयारी गरिएको जनाए । प्रदेश सरकारले प्रति जिल्ला १ करोड ६० लाखको दरले प्रदेशका ११ जिल्लामा १७ करोड ६० लाख रुपैया पर्यटन पूर्वाधारमा लगानी गर्ने भएको हो । बजेट विनियोजना गर्न कार्य्विधि समेत निर्माण गरिएको उनले जनाए ।निर्वा्चित सांसदको संयोजकत्वमा गठित समितिको सिफारिसको आधारमा प्रदेशले जारी गरेको पर्यटकीय गन्तव्यलाई नै प्रथामिकतामा राखेर लगानी गर्न लागेको मन्त्री लम्सालले जनाए । आगामी बर्षमा दोस्रो प्रथामिकताको आधारमा पुनः पर्यटकीय गन्तव्यमा लगानी गर्दै जाने प्रदेश सरकारको योजना रहेको उनले जनाए ।

कमेन्ट गर्नुहोस्
Share: