गोरखाबाट निर्वाचित सांसद दवाडीले दोस्रो वर्ष पनि आफ्नो तलब सामाजिक कार्यमा खर्चिए

Share:

पोखरा । गण्डकी प्रदेशसभा सदस्यको रूपमा शपथ ग्रहण गरेपछि गोरखा २ (ख) बाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीले भनेका थिए, ‘जनताले ठूलो विश्वास गरेर मलाई सांसद बनाउनु भएको छ । म सांसद भइरहँदा सरकारले मलाई दिने सेवासुविधा जनताका लागि खर्च गर्नेछु ।’

झण्डै दुई वर्ष पहिले गरेको प्रतिबद्धता सांसद दवाडीले दोस्रोपटक पूरा गरेका छन् । उनले सांसद बनेको दोस्रो वर्ष पनि आफ्नो सबै तलब सामाजिक काममा खर्चेका छन् । काङ्ग्रेसबाट निर्वाचित सदस्य दवाडीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर सरकारबाट प्राप्त पारिश्रमिक सामाजिक काममा खर्च गरेको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा उनले बैंक स्टेटमेन्ट नै पेश गरे ।

सांसद दवाडीले शिक्षा, स्वास्थ्य र सडक निर्माणलगायतमा करिब ९ लाख ४५ हजार खर्च गरेका हुन् । एक वर्षमा सरकारबाट प्राप्त गरेको रू ६ लाख ७९ हजार ८ सय, सो रकमको ब्याज रू ४ हजार ५ सय ४३ र व्यक्तिगत रूपमा २ लाख ६० हजार रुपैयाँ उनले सामाजिक कार्यमा खर्चिएका हुन् । गत वर्ष पनि यसरी नै सबै सरकारबाट प्राप्त सेवा सुविधा सामाजिक कार्यमा खर्चिएका थिए ।

गएको वर्ष रू १२ लाख २१ हजार २ सय २० खर्च गरेका थिए । गएको वर्ष उनले सरकारबाट प्राप्त गरेको रू ७ लाख ३० हजार ३ सय १५ र व्यक्तिगत रूपमा ४ लाख ९० हजार ९ सय ५ रूपैयाँ खर्च गरेका थिए । पत्रकार सम्मेलनमा बोल्दै उनले जनताको मतले नै चुनाव जितेको र चुनावताका गरेका प्रतिबद्धता पूरा गर्न आफू क्रियाशिल रहेको बताए । जनताको आँगनमा सेवा दिन आएको संघीयताले जनतालाई झनै दुःख दिएको उनको टिप्पणी छ ।

सांसद दवाडीले संघीयतालाई विलासिता र कार्यकर्ता भर्ती केन्द्रको नयाँ मोडलको रूपमा स्थापित गरिएको भन्दै विरोध जनाएका छन् । उनले भने, ‘सरकारले संघीयतालाई विलासिता र कार्यकर्ता भर्ती केन्द्रको नयाँ मोडलको रूपमा स्थापित गराउन खोज्यो । विभिन्न नाममा केन्द्रिय सर्वसत्तावाद अझै शासकहरुको मस्तिष्कबाट निस्किन सकेको छैन । मेरो विरोध यहाँनिर हो ।’

सांसद दवाडीले सरकार अराजकतातर्फ अगाडि बढिरहेको आरोप पनि लगाए । जनता राज्य आतंकको मारमा रहेको भन्दै उनले प्रश्न गरे, ‘विकास र समृद्धिको नाममा सरकारले गरेको ज्यादती लोकतन्त्रको मूल्य र मान्यताभित्र कहाँनेर अटाउँछ ? कोठाकोठामा कर लिन पुग्ने सरकारले त्यसबाट जनतालाई के सुविधा दियो ?’

प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले पत्रकार सम्मेलनमा पेश गरेकाे बैंक स्टेटमेन्ट 

कमेन्ट गर्नुहोस्
Share: