रञ्जन अधिकारी पोखरा, १७ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले अब बित्तिय संस्थाले कृषिमा लगानीका लागि ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् । मुलूकले भोगिरहेको खाद्य सुरक्षा र खाद्यान्न आपूर्तिको समस्यालाई हल गर्नका लागि कृषिको लगानीलाई बढि जोड दिनुपर्ने ठहर राष्ट्रबैंकले गरेको खतिवडाले जनाए ।
पोखरामा बुधबार ‘आर्थिक तथा बैंकिङ क्षेत्रका समसामयिक विषयमा बैंकर तथा व्यवसायीसँग अन्तक्र्रिया’ कार्यक्रममा बोल्दै गभर्नर खतिवडाले चालू आवको बजेटमा कृषिको ब्याज, अनुदान कार्यक्रम लगायत प्रस्तावित भएकोमा अर्थमन्त्रालय हुँदै मन्त्रीपरिषद् बैठकले त्यो निर्देशिका÷कार्यविधि जारी गरिसकेको जनाए । उनले अब राष्ट्र बैंकले कृषिमा लगानीका लागि ऋण उपलब्ध गराउँदा धितो सम्बन्धमा, उमेरहद म्याद सम्बन्धमा छलफल गरिसकी संशोधित प्रस्ताव पठाउने तयारी गरेको जानकारी दिए ।
‘ख वर्ग र घ वर्गका वित्तिय संस्थाको कृषिमा लगानी राम्रो छ । वाणिज्य बैंकहरुले कृषि हाम्रो क्षेत्र नै होईन भन्छ, त्यो राम्रो होईन’ – उनले भने– ‘अब वाणिज्य बैंकहरुलाई फोर्स गर्नुको कारण नै उनीहरुको लगानी हाईड्रोमा भएको छ भने कृषिमा किन नहुने ? क्षमता विस्तार गर्नुप¥यो । कार्यक्षेत्र, सेवा, पहुँच विस्तार गर्नुप¥यो ।’ उनले व्यवसायिक रुपमा सम्भावना नभएका ठाउँमा लगानी गर्न दबाब नदिएको भन्दै थपे – ‘हामीले आधारभूत पूर्वाधार छ, बजार केन्द्र विकास भईसकेको छ । सञ्चार, सडक, सुरक्षा छन् भने ति गाउँहरुमा बैंक पुग्छुपर्छ भनेका हौं ।’ कृषिमा लगानी गर्न गाउँ नै जानुपरेपछि गाउँमै रेमिट्यान्स सेवाको व्यवस्था गर्न सकियो भने बचत गर्ने बानीको विकास हुने र बैंकमा तरलताका साथै जनताले पनि ब्याज पाउने, नियमसंगत खर्च गर्ने आचरण बस्ने उनको भनाई थियो ।
स्वतन्त्र बजारलाई नियन्त्रण गर्न अहिले राज्य केहि कठोर बनेको उनले बताए । ‘बजारले आफूलाई आफै व्यवस्थित गर्छ, प्रतिष्पर्धी हुन्छ, कुशल हुन्छ भन्ने ठानेर खुकुलो तरिकाले हामी गयौं तर बजार भेडो हुँदो रहेछ’ खतिवडाले भने– ‘एकले जे ग¥यो अरुले पनि त्यही गर्ने भएपछि राज्यले पनि उचित गाईड गर्नुपर्ने अवस्था आउँदो रहेछ । फ्रि मार्केटमा रेगुलेटरको भूमिका अझ बढि महत्वपूर्ण हुन्छ । रेगुलेटर कमजोर भयो भने बिग्रन्छ ।’
राजनीतिक संक्रमण नै लगानीको बाधक बन्न नहुने भन्दै उनले देशमा लगानी भित्राउनको लागि धेरै प्रयास भईरहेको बताए । देशमा आन्तरिक कच्चा पदार्थमा निर्भर उद्योग, सेवा मुलक उद्योग तथा यातायात क्षेत्रमा लगानी बढाउन आवश्यकता रहेको खतिवडाले बताए ।
राष्ट्र बैंकको सुधारको प्रक्रिया र त्यसमा केहि संरचनागत प्रणालीगत सुधार आवश्यक परेकाले नै लाईसेन्सिङ, मर्जिङका लागि ध्यान दिएको उनले बताए । ‘एक त लाईसेन्सिङ हो । बैंकको संख्या धेरै हुँदा स्वतः वित्तिय सेवा विस्तार, प्रभावकारी ग्राहकमुखी हुन्छ भन्ने सोचेका थियौं तर सोचेनुरुप भएन । ठूला ग्राहकहरु किनबेचको स्थिति पो आयो ।’ उनले भने– ‘शाखा, संख्या बढाएर मात्र भएन बैंकको पहुँच बढाउनका लागि हामी केन्द्रिकृत भएका छौं । मर्जर प्रक्रिया जारी छ । अपेक्षाकृत सफलता हात पारेका छौं । दुई तिहाई बैंकहरु पार्टनर खोजिरहेको अवस्था छ ।’
हाम्रो प्रणालीगत समस्या नै सरकारी र निजी बैंक बीच विभेदकारी वित्तिय संरचना भएको भन्दै खतिवडाले नीजित क्षेत्रमै कतै विशुद्ध व्यवसायी कतै ऋणी भएर आएको बताए । ‘ऋण लिने दिने छुट्टाउनै गाह्रो भो । बैंक चलाउनेले ऋण किन लिनुप¥यो ? ऋण लिने कसरी सञ्चालक भयो ?’ उनले भने– ‘एउटा संस्थामा दशकौंसम्म एकै व्यक्ति सिईओ हुनुहुँदैन । यसले कसैलाई फाईदा गर्दैन ।’ उनले व्यवसायीहरु पनि पारदर्शी ढंगले आउन जोड दिँदै ऋण माग्दा मल्टिप्रोफाईल देखाउने आचरण राम्रो नभएको र वासलात बनाउनेहरु पनि यसमा दोषी रहेको भन्दै गुनासो गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पछिल्लो समयमा सरकाले पेट्रोलियम पद्धार्थको मुल्य समायोजन गर्दा पनि बजार भाउमा कुनै प्रभाव किन नपरेको भन्दै यसतर्फ गम्भीर हुन आग्रह गरे । मुल्मीले नेपाल प्रतिवर्ष भ्रष्टाचार आक्रान्त मूलुकको शीर्ष स्थानतिर उक्लिएकोमा निराशा प्रकट गरे । जनतासँग बैंक नपुग्दा आर्थिक विकास सम्भव नभएको उनको भनाई थियो ।
पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष देब क्षेत्रीले बंैकहरुले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले एकै व्यक्ति दुई कार्यकाल भन्दा बढि सिईओ हुन नपाउने नीति संशोधनबारे समेत ध्यानाकर्षण गराए । लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरिले बित्तीय क्षेत्रमा पनि अति राजनीति हुन थालेको गुनासो गरे । अन्तक्र्रियामा पोखराका विभिन्न बैंक तथा वित्तिय संस्थाका सञ्चालक, अधिकृत, व्यवसायीहरुको सहभागिता थियो । नेपाल राष्ट्र बैंक पोखराका व्यवस्थापक ऋषिकेश भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डेपुटी म्यानेजर मातृकाराज घिमिरेले गरेका थिए ।

