हिमालको काखमा रहेको सिक्लेस गाउँमा माघे सङ्क्रान्ति मेला

Share:

पोखरा । कास्कीको उत्तरी भागमा रहेको पर्यटकीय गाउँ सिक्लेसमा माघे सङ्क्रान्ति मेला हुने भएको छ । सिक्लेस युवा क्लबले आफ्नो २५ औँ वार्षिकोत्सव एवं माघे सङ्क्रान्तिको अवसरमा सो मेला आयोजना गरेको हो । अन्नपूर्ण र लमजुङ हिमालको काखमा रहेको सिक्लेसमा आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या बढाउने उद्देश्यसहित आयोजित मेला माघ १ गतेदेखि माघ ४ गतेसम्म चल्ने छ ।

क्लबले यस वर्ष मेला स्थलबाटै रजत जयन्ती पनि मनाउने भएको छ । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष देवी जङ्ग गुरूङले यस वर्ष रजत जयन्ती पनि मनाइने भएकाले विगतका वर्षभन्दा यस वर्षको मेला अझै फरक हुने जानकारी दिए । सरकारले हालै घोषणा गरेको नेपाल भ्रमण वर्षको प्रवर्धनमा पनि मेलाले टेवा पु¥याउने आयोजकको विश्वास छ ।

छेलो हान्ने प्रतियोगिता मेलाको आकर्षकणको रूपमा छ । यो प्रतियोगितामा प्रथम र द्धितीय हुनेले क्रमशः रू ४० हजार र ३५ हजारका साथमा प्रमाणपत्र पाउने छन् । यसबाहेक मेलाका अवसरमा खुल्ला पुरूष एवं महिला भलिबल प्रतियोगिता, खुल्ला पुरूष बास्केटबल प्रतियोगिता, खुल्ला सामूहिक नृत्य प्रतियोगिता, लोपोन्मुख घुर्रा घुमाई प्रतियोगितासँगै साँस्कृतिक कार्यक्रम हुने क्लबका सचिव बेल प्रसाद गुरूङले जानकारी दिए ।

उनका अनुसार पुरूष भलिबल र बास्केटबलमा प्रथम र द्धितीय हुनेले क्रमशः रू ५५ हजार ५ सय ५५ र ४४ हजार ४ सयका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । महिला भलिबलमा प्रथम हुनेलाई रू २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्धितीय हुनेलाई रू १५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै संस्कृतिमा आधारित सामूहिक नृत्य प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ४० हजार, ३० हजार र २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका पूर्व सचिव देवी जङ्ग गुरूङले जानकारी दिए । आयोजकका अनुसार उत्कृष्ट नृत्य निर्देशक र उत्कृष्ट भेषभुषालाई ५/५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । मेला सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।

पोखरादेखि उत्तरपूर्वी भागमा रहेको मादी गाउँपालिकामाकाे सिक्लेस गाउँ करिब ४५ किलोमिटरको दुरीमा पर्छ । समुद्री सतहदेखि २ हजार मिटर उचाइको सिक्लेस गाउँ पुग्न पोखराबाट ४ घण्टाको समय लाग्छ । झण्डै ४ सय घर रहेको गाउँमा पुग्नेहरूका लागि होटल र होम स्टेको सुविधा छ । गुरूङ समुदायको बाक्लो वस्ती रहेको गाउँलाई नेपाल सरकारले गएको आर्थिक वर्षमा देशका एक सय पर्यटकीय गन्तव्यको सूचिमा समावेश गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: