

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ । आइतबार दिउँसो १ बजे निर्धारित संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।
सभामुखको कुरामा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् । नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहे पनि उनले अस्वीकार गर्दै आएकी छन् ।
शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न भनेको थियो । तर, तुम्बाहाम्फेले सचिवालयको निर्णयलाई चुनौती दिँदै आफूले उपसभामुखबाट राजीनामा नदिने अडान राख्दै आएकी छन् ।
संघीय संसदको हिउँदे अधिवेशन शुरु भएयता प्रतिनिधिसभाको एउटा बाहेक सबै बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन् । यसअघि पुस १६ गते बस्ने भनिएको बैठक अघिल्लो दिन (पुस १५ गते) नै सूचना टाँस गरी पुस २७ गते बस्ने गरी स्थगित भएको थियो ।
कृष्णबहादुर महरा जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएपछि सभामुख पद खाली भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेदेखि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् । प्रतिनिधिसभा बैठक पुस ४ गते बसेपनि त्यसपछि निर्धारण गरिएको बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ ।


