
पोखरा। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रि नरदेबी पुनले पत्रकार महिलाको क्षमता र दक्षता अभिवृद्धि मुलुकको समृद्धीका लागि अपरिहार्य भएको बताएकी छन् । राज्यको चौंथो अंग पत्रकारीतामा महिलाको अर्थपूर्ण सहभागिताले नै समग्र समावेशीकरणको मुद्दा अर्थपूर्ण हुने उनले बताएकी हुन् ।
संचारिका समूह गण्डकी प्रदेशको आयोजनामा सोमबार देखि पोखरामा शुरु भएको पत्रकार महिलाहरुका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी वस्तुगत रिपोर्टीङ्ग तालिमको उद्घाटन गर्दै मन्त्री पुनले यस्तो बताएकी हुन् । उनले, राजनतिक संरचनाहरु महिला मैत्री बन्दै गएको भएपनि सामाजिक दृष्टिकोणहरु महिला प्रति अझै उदार बनि नसक्नु पत्रकार महिलाका लागि ठूलो चुनौती रहेको बताइन् ।
पत्रकारीतामा महिलाहरु व्यवसायिक रुपमा टिकिराख्नुका लागि पत्रकारीता संस्थागत रुपमै हौसला र प्रोत्साह आवश्यक छ भन्दै आमसंचार तथा पत्रकारितामा महिलामैत्री निति नियम बनाउन आग्रह गरिन् । ‘यसका लागि महिलाहरु आफ्नो व्यक्तिगत रुपमा पनि आफ्नो क्षमता बढाउन तिर लाग्नु पर्छ’ उनले भनिन्–‘विषयवस्तुलाइ मसिनो गरि विश्लेषण गर्दै वस्तुगत समाचार लेख्नु परिपारिटले नै पत्रकार र पत्रकारीता दुबैको दक्षाता बढाउँछ ।’ राज्यको चौंथो अंगमा महिलालाई सहज वातावरण बनाउन गम्भिर र जिम्मेवार हुन पनि उनले आग्रह गरिन् ।
तालिममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ३० जना पत्रकार महिलाको सहभागिता रहेको छ । पत्रकारीता र विभिन्न सामाजिक विषयहरुमा केन्द्रित रहेर कक्षाहरु सञ्चालन हुनेछन् । तालिममा संचारिका समूह नेपालका केन्द्रिय निवर्तमान अध्यक्ष निर्मला शर्मा, बरिष्ठ पत्रकार पुष्य पौडेल, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, संचारिका समूह गण्डकीका निवर्तमान अध्यक्ष जमुना वर्षा शर्मा, क्रियाशिल पत्रकार महिला समूह कास्कीकी अध्यक्ष सरिता तिमिल्सनाले सहजीकरण तथा संचारिका समुह लमजुङ्ग अध्यक्ष शान्ता कमलीले रिपोर्टीङ्ग अनुभव प्रस्तुतीकरण गर्नेछन् ।
कार्यक्रममा बोल्दै संचारिका समूह नेपालका केन्द्रिय निवर्तमान अध्यक्ष निर्मला शर्र्माले पत्रकारीतामा दक्ष बन्नका लागि इच्छाशक्ति सबैभन्दा महत्वपूर्ण हुने बताइन् । रिपोर्टीङ्गका इश्यु हरु धेरै नै भएपनि कसरी सार्वजनिक गर्ने भन्ने ज्ञान तथा कला नहुँदा ओझेल परेका विषयहरु मिडियामा अपेक्षाकृत आउन नसकेको बताइन् । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले समग्र महिलाको अधिकार स्थापित गर्न उनिहरुलाई विकासको मुलधारमा ल्याउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।
संचारिका समूह गण्डकी प्रदेशका अध्यक्ष स्मीता अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, गैसस महासंघ गण्डकीका अध्यक्ष बिना सिलवाल, क्रियाशिल पत्रकार महिला समूह कास्कीकी अध्यक्ष सरिता तिमिल्सीना लगायतले महिला, बालबालिका र जेष्ठनागरिकका विषयमा संचारमा आउनु पर्ने विषयका बारेमा बोल्दै शुभकामना मन्तव्य राखेका थिए । संचारिका समूह गण्डकीकी उपाध्यक्ष राधीका कँडेलले धन्यवाद ज्ञापन तथा महासचिव कविता श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए ।
