
अनुप पौडेल, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पुष महिनामा ३५ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । कार्यालयको मासिक प्रगती विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसीले बुधबार सो जानकारी दिएका हुन् । उनका अनुसार एक महिनामा २४ मुद्धा दर्ता भएकोमा ३५ जनालाई पक्राउ गरिएको हो ।
प्रहरीले चालू आर्थिक वर्षमा सबैभन्दा धेरै भदौ महिनामा ३८ जनालाई लागूऔषधसहित समातेको छ । यस्तै कार्तिक महिनामा १४ जनालाई नियन्त्रणमा लिइएकोमा असोज र मंसिरमा समान १३/१३ जनालाई नियन्त्रणमा लिएको छ । प्रदेशको राजधानीसँगै लागूऔषध प्रयोगकताको सङ्ख्या बढी भएकाले पनि कास्कीबाट कारोबारी धेरै समातिने गरेको प्रहरी अधिकारी बताउँछन् ।
प्रवक्ता केसी भन्छन्, ‘पोखरामा बाहिरबाट कारोबारी आउँछन्, विदेशी पनि आउँछन् । त्यसमाथि यहाँ लागूऔषध प्रयोगकताको सङ्ख्या धेरै छ । अभिभावकले आफ्ना बालबच्चालाई समय नदिनु पनि लागूऔषध प्रयोगकर्ता बढ्नुको कारण हो ।’
एक महिनामा एक सय ५३ मुद्धा दर्ता
जिल्ला प्रहरी कार्यालय कास्कीमा एक महिनामा एक सय ५३ मुद्धा दर्ता भएका छन् । पुष महिनाभर एक सय ५३ मुद्धा दर्ता भएको डिएसपी केसीले बताए । पुष महिनामा सबैभन्दा धेरै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसुरमा ४७ मुद्धा दर्ता भएका छन् ।
यस्तै बैंकिङ कसुरका १७, जबरजस्ती करणीका ७, ठगीसम्बन्धी ५ र चोरीका ६ मुद्धा परेका छन् । यसबाहेक झुण्डीएर आत्महत्या ११, जुवामा ४ र बहु–विवाहमा ३ मुद्धा दर्ता भएका छन् । प्रहरीले पुष महिनाभर चोरीका घटनामा संलग्न ८ जनालाई पक्राउ गरेको छ ।
६ महिनामा बैंकिङ कसुरसम्बन्धी ३२ मुद्धा
कास्कीमा चालू आर्थिक वर्षको ६ महिनामा बैंकिङ कसुरसम्बन्धी ३२ मुद्धा दर्ता भएका छन् । डिएसपी केसीले पुष मसान्तसम्म ३२ मुद्धा दर्ता भएको जानकारी दिए । उनले यी मुद्धामा प्रहरीले अहिलेसम्म २२ जनालाई पक्राउ गरेको बताए ।
अन्य १० जना भने फरार छन् । यी मुद्धामा २ करोड ४५ लाख ३२ हजार ५ सय बिगो दाबी गरिएको छ । मासिक प्रगती विवरण सार्वजनिक गर्दै डिएसपी केसीले कतिपय कारोबारी थाहै नपाई बैंकिङ कसुरमा फस्ने गरेको बताए । उनकाअनुसार पक्राउ परेका कतिले प्रहरीलाई बयान दिँदा आफूलाई बैंकिङ कसुर बारे कुनै जानकारी नभएको प्रतिक्रिया दिने गरेका छन् ।
डिएसपी केसीले भने, ‘कतिले पक्राउ परेपछि मात्र आफूलाई यो विषयमा थाहा भएको प्रतिक्रया दिने गरेका छन्, मुद्धा दर्ता भएर पक्राउ परेपछि कतिले पैसा फिर्ता गर्छन् । तर मुद्धा दर्ता भैसकेपछि त्यसलाई किनारा लगाउन गाह्रो हुन्छ ।’
बैंकिङ कसुर तथा सजाए ऐन, २०६४ को दफा ३ (ग) ले आफ्नो खातामा पैसा नभई चेक काट्न हँदैन भनेको छ । यदि त्यस्तो गरेको पाइएमा बैंकिङ कसुरअनुसार सोहि दफाको १५ (१) मा बिगो बराबर जरिवाना र ३ महिना कैद हुने उल्लेख छ ।



