आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै, भूकम्पबाट हुनसक्ने क्षतिबाट जोगिन प्रधानमन्त्रीको आह्वान

Share:

काठमाडौं । आज माघ २ गते । राष्ट्रिय भूकम्प सुरक्षा दिवस । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो।

विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो। भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेको थियो।  दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो, आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए, नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो। अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

प्राकृतिक बिपत्ति तथा भूकम्पबाट हुनसक्ने क्षतिबाट जोगिन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्राकृतिक बिपत्ति तथा भूकम्पबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सजगताका लागि सबैमा आव्हान गरेका छन् । भूकम्प सुरक्षा दिवसका अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

‘‘भूकम्पको जोखिम रहेको हाम्रोजस्तो भू–भागमा यस्ता प्राकृतिक विपद्ले हुनसक्ने जनधनको क्षतिबाट जोगिन भूकम्प सुरक्षादिवसले हामी सबैलाई यसको सामना गर्दै बच्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु,’’ प्रधानमन्त्रीले भनेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: