
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । ढकालको काठमाडौंको ढुंगेधारा सानो भ¥याङस्थित घरमा बुधबार साँझ ७ बजेर ५५ मिनेटमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।
विष्फोटबाट पार्किङमा राखिएको बा ५ च ९५५९ नम्बरको टोयोटा गाडीमा क्षति पुग्नुका साथै घरको झ्यालका सीसाहरु फुटेका छन् । घरको गेट पूर्णरूपमा ध्वस्त भएको छ। छिमेकीका तीन वटा घरका झ्याल, ढोकाका शिशा समेत फुटेका छन्। तर मानवीय क्षति भने भएको छैन ।कुकरभित्र फलामको किला राखेर बम बनाइएकाले बढी क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
विष्फोटको जिम्मा नेत्र विक्रम चन्द‘विप्लव’ समूहले लिएको छ । विष्फोट आसपास फेला परेको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको पर्चामा बालुवाटार जग्गा कब्जा गर्नेलाई पार्टीले कारवाही गर्ने उल्लेख गरिएको छ ।
पर्चामा ‘शोभाकान्त ढकाल ललिता निवासको सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपन्चका मुख्य योजनाकार भएकाले उनको घरमा वम विस्फोट गराएको’ उल्लेख छ । विप्लव समूहले छरेको पर्चामा उक्त जग्गा कब्जा गरिएको समेत उल्लेख छ ।
प्रधानमन्त्री निवास बालुवाटार परिसरसँगैको १४ रोपनी सरकारी जग्गा शोभाकान्त ढकालको र अधिवक्ता राम सुवेदीको नाममा रहेको पाइएपछि ढकाल उक्त प्रकरणमा मुछिएका थिए।
बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुगेको उजुरीपछि सरकारले पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।
समितिले यो जग्गा हडप्ने प्रकरणमा ढकाल र सुवेदी सुरूदेखि नै संलग्न भएकाले उनीहरूलाई भूमाफिया भनेको थियो।

