पृथ्वी नारायण क्याम्पसका प्राध्यापकहरुलाई राजीनामा नदिन अनुरोध

Share:

पोखरा । सरोकारवाला वैचारिक संगठनहरुले पृथ्वी नारायण क्याम्पसका आंशिक प्राध्यापकलाई राजीनामा नदिन अनुरोध गरेका छन् । आंशिक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसले क्याम्पस प्रशासनले सामान्य मजदुरको भन्दा पनि तल्लो स्तरको व्यवहार गरेको भन्दै सामुहिक राजीनामा दिने बताएका थिए ।

पृथ्वीनारायण क्याम्पसमा सरोकारवाला वैचारिक संगठनहरुले क्याम्पस प्रशासनसँग छलफल गरी समस्यालाई समाधान गर्न अनुरोध गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेश संयोजक हुतराज शर्माले क्याम्पसले आर्थिक पारदर्शीता सहित आंशिक प्राध्यापकलाई व्यवस्थापन गर्नु पर्ने धारणा राखे । उनले क्याम्पसको लागि प्राध्यापक जरुरी छ भने १४ वर्ष देखि आंशिकका रुपमा बौद्धिक शोषण गर्न नहुने तर्क समेत प्रस्तुत गरे ।

यस्तै नेपाल प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रीय सदस्य गिरीधारी दाहालले लामो समयदेखीको समस्या भएकाले प्रशासनले तत्कालै समाधान गर्न अनुरोध गरे । उनले भने, ‘आशिंकको बारेमा हामी पटक पटक बोलेका छौं तर प्रशासन मौन रहँदा समस्या बढेको छ ।’

नेपाल आंशिक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले हिउँदे बिदा पछिका कुनै पनि कक्षा नलिने जानकारी दिए । उनले भने, ‘हामीले पढाएको भरमा क्याम्पस उत्कृष्ट हुदै सार्वजनिक समारोहमा पुरस्कार ग्रहण गर्ने तर हाम्रा मागका विषयमा मौन रहनु कति सम्मको उचित हो ।’

क्याम्पसमा अध्यापनरत दुुई सय १५ जना आंशिक शिक्षकरुले हिउँदे बिदा पछाडीको नियमित कक्षा संचालन भएपछि सामुहिक राजीनामा दिने बताएका छन् । आंशिक प्राध्यापकहरुले विगत १२ वर्ष देखि नियमित रुपमा सांकेतिक आन्दोलन गरेपनि प्रशासनले नटेरेको उनको भनाई छ । अन्तिम आन्दोलन भन्दै प्राध्यापकहरुले गएको मंसिर २८ गते देखि चरणवद्ध आन्दोलन घोषणा गरेका थिए ।

सम्बन्धित सामाग्री – पृथ्वी नारायण क्याम्पसका दुई सय १४ प्राध्यापकहरुले सामुहिक राजिनामा दिने

कमेन्ट गर्नुहोस्
Share: