राष्ट्रिय हितलाई केन्द्रमा राखेर एमसिसीबारे निर्णय हुन्छ-प्रवक्ता श्रेष्ठ

Share:

म्याग्दी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन्।

नेपालको विद्युत प्रशारण लाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसिसीलाई संसदबाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भैरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय हुने बताएका हुन्।

प्रेस संगठन म्याग्दीले शनिवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले पार्टीको सचिवालयले राष्ट्रिय स्वाधिनता र विकासलाई ध्यान दिएर यथार्थपरक ढंगबाट एमसिसी प्रस्तावबारे आवश्यक निकास निकाल्ने बताए। यस्तै, प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभाको सभामुख चयनबारे देखिएको अन्यौलताले छिट्टै निकास पाउने बताएका छन्।

नेकपाकै तर्फबाट सभामुखको उम्मेदवारी दिनका लागि उपसभामुखको राजीनामा अनिवार्य भएको बताउँदै नेता श्रेष्ठले माघ ६ मा आह्वान गरिएको प्रतिनिधिसभा बैठक अगावै यस विषयले निष्कर्ष पाउने विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: