भिडियो कन्फ्रेन्सबाट एकीकृत जाँच चौकीको उद्घाटन, मोदीले नेपालीमा भने : फेरि भेट होला

Share:

काठमाडौं । विराटनगरमा निर्मित एकीकृत जाँच चौकी (आइसिपी) मङ्गलबारबाट सञ्चालनमा आएको छ । उक्त चौकीको मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका छन् । नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण गर्न उक्त चौकी स्थापना गरिएको हो । विराटनगर –१८ मा पर्ने भेडियारीमा १ सय २९ बिघा जमिनमा निर्माण भएको आइसीपी भारत सरकारको २ अर्ब १० करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।

वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले दुबै मुलुकका प्रधानमन्त्रीले डिजिटल माध्यमबाट एकै साथ स्वीच थिच्दै आइसिपीको उदघाटन गरेको जानकारी दिए । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयबाट स्विच थिचेपछि विराटनगर आइसिपीमा भएको पर्दाको अनावरण भएको थियो ।

उदघाटन लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइसिपी नेपाललाई हस्तान्तरणको घोषणा गरेका छन् भने नेपालका प्रधानमन्त्रीले त्यसको स्वामित्व ग्रहण गरेका छन् । नेपाल इन्टरमोडेल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्ड अन्तरगत आइसिपीको स्वामित्वमा रहनेछ । यसको सञ्चालन भने विराटनगर भन्सार कार्यालयले गर्नेछ । आईसीपी उद्घाटनका क्रममा नेपाली प्रधानमन्त्री ओलीले यो दुई मुलुकबीचको सम्बन्धको उदाहरण भएको बताए ।

उनले भारतसँग नजिक रहेर नेपालले काम गर्न चाहेको पनि बताए । ‘यसले दुई देशको सम्बन्ध थप उचाइमा पुगेको छ । बाँकी रहेका केही विषयमा पनि दुई देशबीच बसेर समस्या समाधान गर्नुपर्नेछ,’ भिडियो कन्फरेन्समा ओलीले भने, ‘त्यसका लागि नेपाल सरकार आतुर छ ।’ भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए ।

यता भिडियो कन्फरेन्समै भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकताअनुसार सहयोग गर्न भारत तयार रहेको बताएका छन् । ‘हाम्रो सम्बन्ध छिमेकी मात्रै होइन, भुगोल, प्रकृतिले पनि जोडेको छ । दुई मुलुकबीच हुने सञ्जालले दुई देशबीचको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ मोदीले भने, ‘आईसीपीले दुई देशबीचको व्यापारलाई सहज र सरल बनाउने छ ।’

उनले आगामी दिनमा यस्तै सहयोग जारी रहने बताएका थिए । भारतीय प्रधानमन्त्री मोदीले भने सुरुमा नेपालीमा सम्बोधन गर्दै भने, ‘नमस्कार, कस्तो छ ?’ मोदीले नयाँ दशक स्वर्णिम दशक बनाउने पनि बताए । यस्तै नेपाली समकक्षी ओलीको स्वास्थ्यलाभको कामनासमेत गरेका थिए ।अन्त्यमा नेपाली भाषामा मोदीले भने, ‘तपाईहरु सबैलाई धेरै शुभकामना दिन्छु, फेरि भेट होला । नमस्कार ।’

कमेन्ट गर्नुहोस्
Share: