भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक : नेपाल ११३ औं स्थानमा, सोमालियामा धेरै भ्रष्टाचार

Share:

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१९ सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क कुल १०० मा ८७ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ ।

सोमालिया ९ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ । सीपीआई २०१९ ले १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यवसायीको अवधारणा मापन गरेको छ ।

यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ । १३ विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआईद्वारा यो सूची तयार गरिएको छ ।

टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको छ ।

नेपालमा भ्रष्टाचार नियन्त्रणमा सामान्य सुधार

नेपाल भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा ११ स्थान माथि उक्लिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सीपीआईमा नेपाल ११३ औं स्थानमा छ ।

विश्व बैङ्कसहितका संस्थाकाे सर्वेक्षणका आधारमा सीपीआई २०१९ मा नेपालले १०० मा ३४ अङ्क पाएको छ । अघिल्लो वर्ष २०१८ मा नेपाल ३१ अंकसहित १२४ औं स्थानमा थियो ।

लोकतन्त्रका लागि २०१९ खराब, नेपाल ९२औँ स्थानमा

डेमोक्रेसी इन्डेक्समा नेपाल यसपालि ९२ औं स्थानमा परेको छ । सन् २०१८ मा नेपाल ९७ औं स्थानमा थियो । अहिले नेपाल पाँच स्थान उक्लिएको तथ्यांकमा देखाइएको छ ।

अन्तर्रा्ष्ट्रिय पत्रिका इकोनोमिस्टले वर्षेनी निकाल्दै आएको इन्डेक्समा नेपाल सो सूचीमा परेको हो । बेलायतको चर्चित प्रकाशन समूह द इकोनोमिक ग्रुपको आफ्नो रिसर्च विभाग इन्टिेलिजेन्स युनिटको मद्धतले हरेक वर्ष यस खालको रिपोर्ट निकाल्ने गरिएको छ ।

नयाँ रिपोर्टमा नर्वे सबैभन्दा उच्च स्थानमा देखिएको छ भने अमेरिका रिपोर्टमा २५औँ स्थानमा रहेको छ । सबैभन्दा तल उत्तर कोरिया १६७ औँ स्थानमा रहेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: