
पोखरा । अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् । केहि दिनदेखि चर्चामा रहेका गुरुङ पोखराको गैह्रापाटनबाट पक्राउ परेका हुन् ।
ओम गौरा जोस्टेल प्रालिका प्रोपाइटर हरि भक्त आचार्यको उजुरीमा उनलाई नियन्त्रणमा लिइएको हो ।
बैंकिङ कसुर तथा ठगीको आरोपमा परेको उजुरी बारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दान बहादुर कार्कीले बिगखबरलाई जानकारी दिए ।
गण्डकी प्रदेश मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको उद्घाटनमा गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले हातपात गरेका थिए । त्यसपछि उनी चर्चामा रहँदै आएका छन् ।
अध्यक्ष गुरुङको उजुरी परेपछि प्रहरीले बिहिबार सांसद गुरुङलाई नियन्त्रणमा लिएको थियो । सांसद मनाङे अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध घटनाको छानबिन भइरहेको छ ।
सांसद गुरुङले आफूले हातपात गरेको स्वीकार्दै आएका छन् । उनले घटनाको दिन एन्फाका केन्द्रिय अध्यक्ष कर्मा शेर्पालाई आक्रमण गर्न चाहेको बताएका थिए ।
सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा आक्रोश पोखेका थिए ।
