एमसीसी पारित गर्नु पर्नेछ, सविस्तार पछि भन्नेछु : प्रधानमन्त्री

Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको चालू आर्थिक वर्षभित्रै अमेरिकाले गर्न लागेको अनुदान सहयोगअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता पारित गर्नुपर्ने बताएका छन् ।

नयाँ सभामुख निर्वाचित भएपछि मंगलबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले संसदको चालू अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्नुपर्ने बताएका हुन् । देश विकासको लागि गति बढाएर काम गर्नुपर्ने उल्लेख गरेका प्रधानमन्त्री ओलीले केही काममा विलम्व भएको स्वीकार गरे ।

‘अलिकति विलम्व भएको छ, सभामुख चयनका विषयमा पनि । अब हामीले विलम्व गर्नु हुँदैन । संसद, सरकार सबैले तीव्र गतिमा हाम्रा काम अघि बढाउन जरुरी छ । नत्र हामी पछाडि पर्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘एमसीसी पारित गर्नु पर्नेछ, जसका सम्धन्बमा सविस्तार पछि भन्नेछु ।’प्रधानमन्त्री ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटाले नियमसंगत तथा मर्यादित ढंगले संसद चलाउन भूमिका खेल्ने अपेक्षा लिएको पनि बताए । उनले आफ्नो तर्फबाट सभा सञ्चालनमा पूर्ण सहयोग हुने समेत बताए ।

राजनीतिक आन्दोलनको चरण पार गरेर अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देशलाई कसलाई अगाडि बढाउने सन्दर्भमा आजका प्राथमिकता के हुन्, आफ्ना काम र बिचारहरु केमा केन्द्रित हुनुपर्छ भन्ने कुरामा विचार गरेर अघि बढ्नुपर्छ भन्ने मैले देखेको छु । हाम्रो समाज पनि मेलमिलापयुक्त ढंगले अघि बढ्नेछ ।’

लोकतान्त्रिक तथा परिवर्तनकारी शक्तिहरु मिलेर अगाडि बढ्दा नै देशले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब पनि लोकतान्त्रिक तथा परिवर्तनकारी शक्तिहरु मिलेर जानुको विकल्प नभएको स्पष्ट पारेका छन्।

कमेन्ट गर्नुहोस्
Share: