लमजुङलाई मुख्यमन्त्री कप फुटबलको उपाधि, कास्की उपविजेता

Share:

पोखरा । गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबलको उपाधि लमजुङले जितेको छ । फाइनलमा घरेलु टोली आदर्श युवा क्लबलाई हराउँदै लमजुङको त्रिवेणी युवा क्लबले उपाधि जितेको हो ।

मंगलबार कास्कीको भण्डारढिकस्थित आदर्श क्लबको खेल मैदानमा भएको फाइनलमा लमजुङको टिमले कास्कीको टिमलाई २–० ले हराएको हो । लमजुङलाई उपाधि दिलाउन अश्विन गुरुङ र नवराज गुरुङले एक/एक गोल गरे ।

अश्विनले खेलको १४ औं मिनेट र नवराजले ४९ औं मिनेटमा गोल गरेका हुन् । सोमबार भएको सेमिफाइनालामा तनहुँको भिमाद क्लबलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै कास्कीको आदर्श क्लब फाइनल पुगेको थियो ।

यस्तै उपाधि जितेको लमजुङको त्रिवेणी युवा क्लबले सेमिफाइनालामा स्याङ्जाको होराइजन क्लबलाई ३-१ ले हराएको थियो । विजेता र उपविजेताले क्रमशः ५ लाख र ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

गोरखाको बौद्द युवा क्लब अनुशासित टिम बनेको छ । त्रिवेणीका गोल रक्षक आकाश रानाभाट उत्कृष्ट गोल रक्षक बनेका छन् । उत्कृष्ट डिफेन्सको पुरस्कार त्रिवेणी क्लबका अन्जन सापकोटाले पाए । उनीहरू सबैले समान ५/५ हजार नगद र ट्रफी पुरस्कार प्राप्त गरे ।

३ जना सर्वाधिक गोलकर्ता

प्रतियोगितामा सर्वाधिक गोल गर्ने तीन जनाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाएका छन् । लमजुङको त्रिवेणी युवा क्लबका नवराज गुरुङ, कास्कीको आदर्श क्लबका सुलेमान थापामगर र स्याङ्जाको होराइजन क्लबका सरद कुमार क्षेत्री सर्वाधिक गोलकर्ता बनेका हुन् ।

आयोजकले तीनै जनाले समान ४/४ गोल गरेकाले तीनै जनालाई पुरस्कार दिइएको जनाएको छ । सर्वाधिक गोलकर्ताका लागि ५ हजार पुरस्कार राखिएको थियो । तीनै जनाले त्यसलाई बाँडेर लिएका छन् । प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
Share: