मोहम्मद साहजादले चितवनबाट ईपीएल खेल्ने, अनिललाई सर्वाधिक मूल्य

Share:

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद साहजादले चितवन टाइगर्सबाट खेल्ने भएका छन्।

बुधबार एक प्रेस बिज्ञप्ति निकाल्दै चितवनले साहजादलाई टिममा अनुबन्धन गरेको जानकारी दिएको छ। यस्तै उनलाई टिममा अनुबन्धन गर्न पाउँदा टिम निकै खुशी भएको पनि बिज्ञप्तिमा उल्लेख रहेको छ।

बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र आबुधाबी टी-१० खेलका साहजाद यस संस्करणको ईपीएल खेल्न नेपाल आउने भएका हुन्।

साविक विजेता ललितपुर प्याट्रियट्सले श्रीलंकन राष्ट्रिय टोलीका पूर्वकप्तान उपुल थरंगालाई अनुबन्धन गरेको थियो। भैरहवा ग्लाडीयटर्सले वेष्ट इण्डिजका अलराउण्डर ड्वेन स्मिथलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै नेपाली खेलाडीको खेलाडी किनबेचमा अनिल खरेलले सर्वाधिक महँगो मूल्य पाएका छन्। अनिल खरेललाई विराटनगर वारियर्सले १ लाख २७ हजार रुपैयाँमा अनुबन्धन गरेको हो।

अनिल पछि अर्का युवा खेलाडी रित गौतम सर्वाधिक मूल्यमा अनुबन्धन भएका छन्। पोखरा राईनोजले रित गौतमलाई १ लाख २० हजार रुपैयाँमा अनुबन्धन गरेको हो। ईपीएलको चौथो संस्करण चैत १ देखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुदैछ ।

कमेन्ट गर्नुहोस्
Share: