
काठमाडौं । प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३२ महिला, ३७ पुरुष र चार तेस्रोलिङ्गी रहेका छन्।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँ बसपार्क क्षेत्रको विकृति, बिसङ्गति अन्त्यका लागि नयाँ बसपार्क शुद्धीकरण अभियान सञ्चालन गरेको जानकारी दिए।
पक्राउ पर्नेमा उर्वसी डान्सबारका सञ्चालक, नमस्ते डान्सबारका मेनेजर, दर्शन नमस्ते रेष्टुरेन्टका सञ्चालक, गोरखा मनकामना गेष्टहाउसका सञ्चालकलगायत छन्। पक्राउ परेकासँग प्रहरीले लागुऔषध गाँजा र नाइट्राभेट ट्याब्लेटसमेत बरामद गरेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नयाँ बसपार्क क्षेत्रलाई आकर्षक क्षेत्रको रुपमा विकास गर्न यहाँभित्र रहेका विकृति विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरेको बताए।
