
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पराजय भोगेको छ। त्रिवि क्रिकेट मैदानमा बुधबार भएको ऐतिहासिक खेलमा नेपाल आफ्नो पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको हो ।
ओमानले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७९ रनमा समेटियो ।
नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि घरेलु टोलीलाई जित दिलाउन सकेनन्। दिपेन्द्र सिंह ऐरीले ३६ रन बनाउँदा सन्दीप लामिछानेले २८ रन जोडे। विनोद भण्डारीले २६ रन गराउन सके।
ओमानका लागी जिशन मक्सुदले ३ तथा कलिमउल्लाले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । नेपालका करण केसीले ४ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले ३ विकेट हात पारे ।
