
काठमाडौ, २४ मंसिर(एजेन्सी) / यस वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल भएकी पाकिस्तानकी मलाला युसफजाईले आफूले राजनीतिमा आउन चाहेको र पाकिस्तानको प्रधानमन्त्री बन्ने चाहना रहेको बताएकी छिन् ।
पुरस्कार ग्रहण गर्नुअघि बीबीसीसँग कुरा गर्दै मलालाले पढाई सकेपछि राजनीतिमा आउने र पाकिस्तानको प्रधानमन्त्री बन्ने बताएकी हुन् । उनले कैलाश सत्यार्थीको साथमा नोबेल शान्ति पुरस्कार बाड्नेछिन् ।
मलालालाई महिला शिक्षाको पक्षमा आवाज उठाएको भन्दै सन् २०१२ अक्टुबरमा गोली हानी मार्ने प्रयास गरिएको थियो । टाउकोमा गोली लागेकी उनको लामो समयको उपचारपछि स्वास्थ्यलाभ गरेकी छिन् । उनी नोबेल पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति बनेकी छिन् ।
कुराकानीका क्रममा उनले भनिन्, ‘म आफ्नो देशको सेवा गर्न चाहन्छु र मेरो इच्छा के छ भने मेरो देश विकसित राष्ट्र बनोस् र सबैले बालबालिकाले पढ्न पाउन् ।’
उनले आफू बेनेजिर भुट्टोबाट प्रभावित भएको बताएकी छिन् । उनले भनिन्, ‘यदी मैले मेरो देशलाई राजनीतिमार्फत देशको सेवा गर्न पाए वा त्यो भन्दा प्रधानमन्त्री भएर देशको सेवा गर्न पाए त्यसलाई म अवस्य पनि छान्ने छु ।’
आफूले नोबेल पुरस्कार पाएकोमा निकै गौरवान्वित अनुभव गरेको बताउँदै उनले भनिन्, ‘मलाई बालबालिकाहरू विद्यालय गइरहेको हेर्ने इच्छा छ ।’

