आज फागुन ७ गते : ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

772
0
Share:

काठमाडौं । आज ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ।

आज काठमाडौंको टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा हुने विशेष कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ । यस्तै नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ ।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: