
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन जन्मथलो आउने भएपछि तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले कर्मचारी तथा शिक्षकहरुलाई ड्रेस कोड नै तोकेर जन्म दिनको कार्यक्रममा अनिवार्य सहभागी हुनसमेत भनेको छ । प्रधानमन्त्री ओली आइतबार आफ्नो ६९औँ जन्मदिन मनाउन जन्मघर आठराई जाँदैछन् ।
प्रधानमन्त्री ओलीको जन्म घर तेह्रथुमको आठराई गाउँपालिका–४ (साविकको इवा गाविस– २ खानीगाउँ)मा पर्दछ । प्रधानमन्त्री ओलीको जन्म दिवस मनाउने कार्यक्रम उनी जन्मिएकै घरमा आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्रीले चार सय जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र १५ सय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने छन् । आठराईमा त्रिभुवन विश्वविद्यालयको एक आङ्गिकसहित दुई वटा क्याम्पस र नौ वटा माविसहित ५८ वटा विद्यालय छन् ।
त्यसअघि प्रधानमन्त्री ओलीले सुकेपोखरीदेखि भानु आधारभूत विद्यालय हुँदै ढुंगेसाँघुसम्म पुग्ने सडकको शिलान्यास, आठराईमा नेपाल बैंकको शाखा कार्यालय उदघाटन र पाँचथरको कुम्यायक गाउँपालिकामा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट र्पुयाइएको खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।
