
काठमाडौं। नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले गरेका भ्रष्टाचारका काण्डहरु खोज्न छायाँ मन्त्रिपरिषदका सदस्यहरुलाई निर्देशन दिएको छ ।
गत जेठमा गठित छायाँ मन्त्रिपरिषदको पहिलो पटक बैठक गर्दै कांग्रेसले कुन–कुन मन्त्रालयमा के–कस्ता भ्रष्टाचार भइरहेका छन् त्यसबारे सूचना संकलन गरी रिपोर्टिङ गर्न छायाँ मन्त्रीहरुलाई निर्देशन दिएको हो ।
बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको जस्तै अरु मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै त्यसमा छायाँ मन्त्रीहरुले अध्ययन गरी रिपोर्टिङ गर्न निर्णय भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
गठनको नौ महिनापछि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा छायाँ मन्त्रीको जिम्मेवारी पाएका सदस्यहरुले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन पेश गरेका थिए ।
संयोजकहरुले सरकारका कामकारबाही जनहित विपरीत रहेको निष्कर्ष निकाल्दै पार्टी सशक्त रूपमा प्रस्तुत हुनुपर्ने र यो बैठक अब हरेक महिना बस्ने निर्णय पनि गरिएको छ । सरकारले ल्याउने विधेयकहरूमा चनाखो बन्न पनि निर्देशन दिइएको छ ।
२१ मन्त्रालय हेर्ने गरी कांग्रेसले गत जेठ ६ गते ‘छायाँ मन्त्रिमण्डल’ बनाएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभाको ८ फागुनमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले बाँस्कोटाको राजीनामा र प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्टीकरणको माग गर्दै सदनको कारबाही अवरोध गरेको थियो ।
