
अनिष भट्टराई, पोखरा । १८ औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता स्थगन नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले मानिस जम्मा हुने गरी कुनै पनि सभा, समारोह, मेला, महोत्सव जस्ता कार्यक्रम नगर्न आग्रह गरेपनि प्रतियोगिता सञ्चालन हुने भएको छ ।
अब प्रतियोगिता निर्धारित मिति अर्थात बिहिबार बाट नै सुरु हुने सहारा फुटबल क्लबका अध्यक्ष केशव थापाले जानकारी दिएका छन् । अब पूर्व निर्धारित खेल तालिका अनुरुप पहिलो खेलमा आयोजक सहारा फुटबल क्लबले ब्रिगेड व्याइज क्लबको सामना गर्ने छ ।
फागुन २२ देखि चैत १ सम्म आयोजना हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा ए डिभिजन लिगका ५ टोलीको सहभागिता रहँदा १ विदेशी क्लबले प्रतिष्पर्धा गर्ने छ । आयोजक सहारा फुटबल क्लबसँगै अन्य ३ क्लबको समेत सहभागिता रहने छ ।
प्रतियोगितामा आयोजक सहारा क्लबसँगै रुसलान थ्री स्टार, त्रिभुवन आर्मी क्लब, नेपाल आयल निगम मनाङ म¥याङ्दी, नेपाल पुलिस, एपिएफ क्लब, संकटा क्लबको सहभागिता रहेको छ । झापा ११, बिग्रेड ब्वाइज क्लब र भारतको गान्टोक सिटि क्लबले समेत प्रतिष्पर्धा गर्ने छन् ।
खेल आयोजनाका लागि अनुमति
मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्कीले मानिस जम्मा हुने गरी कुनै पनि सभा, समारोह, मेला, महोत्सव जस्ता कार्यक्रम नगर्न आग्रह गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले कोरोनाको बढ्दो प्रकोप न्यूनिकरणका लागि भन्दै बिज्ञप्ति जारी गरेका थिए ।
तर आहा ! रारा गोल्ड कप पूर्व निर्धारित कार्यक्रम भएकाले यस प्रतियोगिता गर्न छुट दिईएको सहायक प्रजिअ पौडेलले बताएका छन् । आयोजकले प्रतियोगिता गर्नका लागि अनुरोध गरेकोले खेल आयोजना गर्न दिइने पौडेलले बताए ।
उनले भने,‘खेलाडीहरु आईसक्नु भएको छ र कार्यक्रम पूर्व निर्धारित भएकाले खेल आयोजना गर्न अनुमति दिएका छौँ ।’ यस्तै उनले दर्शकहरु आफ्नो सुरक्षा गरेर खेल हेर्न जान सक्ने र परि आएको खण्डमा प्रशासनको साथ पनि रहने बताए ।
यस्तो छ खेल तालिकाः
आयोजक सहारा फुटबल क्लबले सार्वजनिक गरेको खेल तालिका अनुसार यस संस्करणको पहिलो खेलमा फागुन २२ गते आयोजक सहारा क्लब पोखराले ब्रिगेड ब्वाइज क्लबको सामना गर्ने भएको छ । दोस्रो खेलमा २३ गते एपिएफ क्लबले झापा ११ सँग खेल्ने छ । यि दुई खेल पश्चात् क्वाटरफाइनलका खेल हुनेछन् ।
यस्तै तेस्रो खेलमा सहारा क्लब र ब्रिगेडबिच हुने पहिलो खेलको विजेताले नेपाल पुलिस क्लबसँग २४ गते खेल्ने छ । २५ गते एपिएफ र झापाको खेलको विजेताले मनाङ म¥याङ्दी क्लबसँग खेल्ने छ । यि दुई खेलका दुई विजेताले सेमिफाइनलमा आफ्नो स्थान बनाउने छन् ।
क्वाटरफाइनलकै अर्को खेलमा २६ गते गान्टोक सिटि क्लबले थ्री स्टार क्लबसँग खेल्ने छ । २७ गते भने संकटा क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । सेमिफाइनलका खेलहरु क्रमशः फागुन २८ र २९ गते हुनेछ । फाइनल खेल भने चैत्र १ गते दिउँसो २ बजे हुने जनाइएको छ ।
यस वर्ष विजेताले रू १० लाख १ हजार पाउँदा उपविजेताले रू ५ लाख १ हजार पाउने छ । गएको संस्करणको विजेताले रू ८ लाख १ हजार रुपैयाँ नगद प्राप्त गर्दा उपविजेताले रू ४ लाख १ हजार हात पारेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, बेष्ट अफ फाइभ, फेयर प्ले र निर्णयकलाई ट्रफी र मेडल प्रदान गरिने छ । यस्तै हरेक खेलको म्यान अफ दि म्याचलाई रू ५ हजार दिइने छ ।
टिकट मूल्य कति ?
आयोजक सहारा क्लबले १८ औँ संस्करणको यस प्रतियोगिताका लागि गेट टिकट शुल्क निर्धारण गरेको छ । आयोजकले प्रि–क्वाटरफाइनल, क्वाटर फाइनल तथा सेमिफाइनल र फाइनल खेलका लागि फरक फरक दरको टिकट निर्धारण गरेको छ ।
प्रि–क्वाटरफाइनलका खेलका लागि दर्शकले रु १ सयको टिकट काट्नुपर्ने भएको छ । क्वाटरफाइनल तथा सेमिफाइनलका खेलका लागि रु १ सय पचास र २ सय रुपैँयाको टिकट निर्धारण गरिएको छ । फाइनलमा भने २ सय पचास रुपैँयाको दरको टिकट लाग्ने छ । साथै प्रतियोगिता अवधिभर खेल हेर्न पाउने गरि रु १ हजार ५ सयको सिजनल टिकटको व्यवस्था समेत आयोजकले मिलाएको छ ।
File photo
